संसद्मा दुर्गा प्रसाईंको बचाउ गर्दै जबराले भने- उहाँले निमुखा जनताको सेवा गर्दै हुनुहुन्थ्यो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबराले संसद्बाट दुर्गा प्रसाईंको बचाउ गरेका छन्।आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै चैत १५ को घटनामा प्रसाईंले नभएर सरकारले नै आतंक मच्चाएको आरोप लगाए।
‘त्यहाँ घटना गराएको हामीले होइन्। राज्यले हो। दुर्गा जीले पनि निमुखा जनताको सेवा गर्न लाग्नुभएको छ। उहाँले पनि आतंक मच्चाएका होइनन्, जनतालाई राज्यले नै भड्काएको हो,’ सांसद जबराले भने।
सांसद जबराले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको झडप राज्यको योजनाबद्ध आतंकको परिणाम भएको दाबी गरे। ‘हामीले त्यस दिन भएको घटनाको छानबिन माग गरेका छौं, तर सरकार किन डराइरहेको छ?’ जबराले प्रश्न गरे।
उनले तीनकुने घटनाको जिम्मा राप्रपाले नभएर राज्यले नै लिनुपर्ने बताए। ‘मञ्चमा राष्ट्रिय गान बज्दै गर्दा समेत अश्रु ग्याँस प्रयोग भयो, यस्तो कहिल्यै भएको थिएन,’ उनले भने।
सांसद जबराले तीनकुनेमा भएको आन्दोलनमा सहभागी जनतालाई ‘भड्किएको’ भनेर दोष दिनु गलत भएको बताए। ‘जनता आफैं उठेका होइनन्, राज्यले उनीहरूलाई त्यस दिशातिर धकेल्यो,’ उनले स्पष्ट पारे।
उनले सरकार छानबिन समिति गठन गर्न हिच्किचाइरहेको भन्दै त्यसैमा शंका पैदा भएको बताए।
असार ८, २०८२ आइतबार १३:३२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।