...अनि अमरेशले भने- त्यो निर्देशन मान्दैन, सभामुख संसद्को हो, एमालेको होइन

...अनि अमरेशले भने- त्यो निर्देशन मान्दैन, सभामुख संसद्को हो, एमालेको होइन

काठमाडौं : सांसद अमरेशकुमार सिंहले बजेट वितरणमा भएका क्षेत्रीय विभेदबारे गरेको टिप्पणीले संसद्मा बाझाबाझ भएको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा सिंहले केही जिल्लामा मात्रै बजेट केन्द्रित गरिएको भन्दै बाँकी ७२ जिल्ला अरू नै देशलाई लिजमा दिन सकिने भन्दै कटाक्ष गरेपछि संसद्मा विवाद भएको हो। 

सिंहले व्यंग्यात्मक शैलीमा भनेका थिए, ‘चार-पाँच वटा जिल्ला मात्र भाग्यमानी छन्, बाँकी ७२ जिल्लामा बजेट नै जाँदैन भने त लिजमै दिँदा हुन्छ। अमेरिका, चाइना, भारतलाई दिउँ। बजेट नै जाँदैन भने नेपालमा किन राख्ने ? कर लिनका लागि मात्रै राख्ने ?’

सिंहको उक्त भनाइप्रति एमालेका मुख्य सचेतक महेश बर्तौलाले नियमापत्ति जनाउँदै राष्ट्रघातको संज्ञा दिए। ‘देशको भूभाग लिजमा दिने कुरा संसद्बाट भन्नु अत्यन्त आपत्तिजनक हो,’ बर्तौलाले भने, ‘त्यस्ता अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ र कारबाहीको विषय बनाइनुपर्छ।’

सिंहले आफ्नो भनाइमा अडिग रहँदै प्रतिवाद गरे, ‘गाभ्न भनेको होइन, लिजमा दिन भनेको हो, त्यो पनि विभेदका कारण,’ भन्दै आफ्नो धारणालाई स्पष्ट पार्न खोजे। उनले बजेट वितरणमा भएको अनुचित प्राथमिकतामाथि प्रश्न उठाउँदै प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो गृहजिल्लामा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाए।

सभामुख देवराज घिमिरेले सिंहको अभिव्यक्तिलाई असंसदीय ठहर गर्दै रेकर्डबाट हटाउने निर्देशन दिए। तर त्यसपछि विवाद झन् चर्कियो। सिंहले सभामुखमाथि नै पक्षपातको आरोप लगाउँदै सभामुख संसद्को नभएर एमालेको प्रतिनिधि बनेको आरोप लगाए।

‘सभामुख दलीय हिसाबले निर्देशन दिनुहुन्छ। त्यो निर्देशन हामी मान्न तयार छैनौँ। सभामुखलाई एमालेले जे भन्यो त्यै निर्देशन हुन्छ,’ उनले भने।  

विवाद यति बढ्यो कि सिंहले रोष्ट्रममै बोलिरहँदा एमाले र कांग्रेसका सांसदहरूले नाराबाजी गर्न थाले। निकै समय चलेको चर्काचर्की सांसद् सिंह रोष्टमबाट उत्रिएपछि रोकिएको थियो। 

असार ८, २०८२ आइतबार १२:४६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।