अब देश चाँडै ‘भ्रष्टाचारको म्यूजियम’ बन्दैछ : सांसद असिम शाह

अब देश चाँडै ‘भ्रष्टाचारको म्यूजियम’ बन्दैछ : सांसद असिम शाह

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भिजिट भिसा प्रकरणलाई हजारौँ नेपाली युवाको सपना र भविष्यमाथि भएको सुनियोजित ठगीको रूपमा टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद शाहले युवाहरूको विवशतालाई औजार बनाएर मुलुकमा ‘लुटको सिन्डिकेट’ चलिरहेको आरोप लगाए। उनले भने, ‘देशमा यस्तो सिन्डिकेट खडा भएको छ, जसले कहिले भुटानी शरणार्थी काण्डमा नागरिक बेच्छ, कहिले ललिता निवास जोगाउनु पर्नेहरू सरकारी जग्गा कब्जा गर्छन्, कहिले सुनलाई बिस्कुट भनेर भित्र्याउँछ। अब देश चाँडै ‘भ्रष्टाचारको म्यूजियम’ बन्दैछ।’ 

भिजिट भिसा प्रकरण सामान्य ठगी नभई युवाहरूको सपना र सम्भावनामाथि प्रहार भएको भन्दै उनले सरकारले यसमा गम्भीर छानबिन गर्नुपर्ने बताए। 

सांसद शाहले सदनमा पछिल्लो एक महिनादेखि ‘राजनीतिक नाटक’ मञ्चन भइरहेको भन्दै त्यसको विरोध पनि गरे। ‘हामीलाई दर्शक बन्न बाध्य पारिएको छ। तर संसद बहुमतको अंकगणितले मात्रै होइन, विवेक र नैतिकताले पनि चल्नुपर्छ,’ उनले भने।

उनले वैदेशिक रोजगारीमा गएका लाखौँ नेपाली युवाहरूको हालत उल्लेख गर्दै त्यो उनीहरूको रहर नभई राज्यको असफलताको परिणाम भएको बताए। रास्वपा संख्या कम भए पनि आफ्नो अडानमा दृढ रहेको स्पष्ट पार्दै शाहले पार्टीले उठाएको माग फिर्ता नहुने चेतावनीसमेत दिए।

असार ८, २०८२ आइतबार १२:१६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।