तीन दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

तीन दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

गुल्मी : तीन दिनअघि सुक्खा पहिराले अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै खुलेको छैन। सडक सञ्चालन नहुँदा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ स्थित हर्मीचौर–अर्बेनी खण्डमा आवतजावत ठप्प भएको छ भने स्थानीयवासी थप समस्यामा परेका छन्।

गत शुक्रबार अपराह्न गरगरेमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो। त्यसयता गाउँपालिका केन्द्र पुर्तिघाट र बुटवलतर्फ गएका यात्रु बाटोमै अलपत्र परेका छन्। पहिरो हटाउन तीनवटा डोजर तयारी अवस्थामा भए पनि माथिबाट लगातार सुक्खा पहिरो खसिरहेकाले काम गर्न समस्या भइरहेको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए।

‘हामीले यात्रुको सुरक्षालाई ध्यानमा राखेर पहिरो क्षेत्रमा प्रहरी खटाएका छौं,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले भने, ‘यात्रुलाई हर्मिचौर माथिबाट देउराली हुँदै अर्बेनीकोटतर्फको वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेका छौं ।’ 

उनका अनुसार आज (आइतबार) केलुकीसम्म पनि पहिरो नरोकिएकाले सडक सञ्चालनमा आउन नसक्ने स्पष्ट भएको छ। प्रमुख सडक तीन दिनदेखि बन्द हुँदा स्थानीय जनतालाई दैनिक जीवनयापनमा समस्या भएको अध्यक्ष थापाले बताए। ‘नागरिकले पटक–पटक सडक कहिले खुल्छ भनेर सोधिरहनुहुन्छ, तर जवाफ दिन सक्ने अवस्था छैन,’ उनले भने।

असार ८, २०८२ आइतबार ११:०७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।