इरानका तीन प्रमुख आणविक क्षेत्रमा अमेरिकी वायुसेनाले आक्रमण गरेको ट्रम्पको दाबी

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानका तीन प्रमुख आणविक साइटमा अमेरिकी वायुसेनाले आक्रमण सम्पन्न गरेको दाबी गरेका छन्।
'फोर्डो, नताञ्ज र इस्फहान साइटहरूमा बम खसालिएको छ,' ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, 'अहिले सबै विमान इरानको आकाशबाट बाहिर छन् र सुरक्षित रूपमा फर्कंदैछन्।'
उनले अमेरिकी सेनाको प्रशंसा गर्दै भनेका छन्, 'अब शान्तिको समय हो। हाम्रो बहादुर सैनिकहरूलाई बधाई।'
इरानी समाचार संस्थाहरूले फोर्डो साइटमा आक्रमण भएको पुष्टि गरेका छन्। ईरानको कुम प्रान्तका अधिकारीहरूका अनुसार एयर डिफेन्सले केही क्षणअघि लक्षित क्षेत्रतर्फ गोली प्रहार गरेका थिए।
अमेरिकाको यस कदमले इजरायलले सुरु गरेको आक्रमणलाई प्रत्यक्ष समर्थन गरेको देखिएको छ। इजरायलले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट गर्ने उद्देश्य राखेको छ जसमा अमेरिका पनि खुलेर सहभागी भएको हो।
ट्रम्पले शनिबार रोयटर्सलाई प्रतिक्रिया दिदै इरानले तुरुन्तै शान्तिवार्ता नगरे पुनः आक्रमण गर्ने चेतावनी दिएका थिए।
ईरानी सर्वोच्च नेता अयातोल्लाह खामेनीले यसअघि चेतावनी दिएका थिए 'अमेरिकी आक्रमणले उनीहरूकै लागि अपूरणीय क्षति पुर्याउनेछ।'
असार ८, २०८२ आइतबार ०७:५७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।