इजरायल-इरान द्वन्द्वको नवौँ दिन : उत्तरपश्चिमी इरानमा इजरायली आक्रमण

काठमाडौं : इजरायल र इरानबीचको सशस्त्र द्वन्द्वको नवौँ दिनमा स्थिति झनै गम्भीर बनेको छ। इजरायलले उत्तरपश्चिमी इरानमा नयाँ आक्रमण सुरु गरेको छ भने यसको जवाफमा इरानले इजरायल तर्फ थप ड्रोनहरू पठाएको छ।
इरानी अधिकारीहरूका अनुसार जुन १३ मा इजरायलले सुरु गरेको आक्रमणमा अहिलेसम्म ४ सय भन्दा बढी मानिसहरूको मृत्यु भएको छ भने कम्तीमा ३ हजार ५६ जना घाइते भएका छन्। द्वन्द्वको क्रममा दुवै पक्षले निरन्तर एकअर्कामाथि आक्रमण गरिरहेका छन्।
इरानी विदेशमन्त्री अब्बास अराघचीले अन्तर्राष्ट्रिय समुदायलाई चेतावनी दिँदै यदि अमेरिकाले इजरायलको आक्रमणमा सामेल भएमा यो सबैका लागि अत्यन्त खतरनाक हुने बताए। उनले अमेरिकालाई द्वन्द्वमा संलग्न नहुन आग्रह गरेका छन्।
यसैबिच फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र इरानी राष्ट्रपति मसूद पेजेसकियानबीच भएको छलफलमा दुवै नेताले युरोपेली शक्तिहरू र इरानबीचको आणविक वार्तालाई तीव्रता दिन सहमति गरेका छन्। यस सहमतिले क्षेत्रीय तनाव कम गर्नमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
त्यस्तैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राष्ट्रिय गुप्तचर निर्देशक तुल्सी गब्बार्डको सार्वजनिक आलोचना गरेका छन्। इरानले आणविक हतियार निर्माण गरिरहेको कुनै प्रमाण छैन भन्ने गब्बार्डको भनाइलाई ट्रम्पले गलत भएको दाबी गरेका हुन्।
यसले अमेरिकी प्रशासनभित्रै इरानमाथिको आक्रमणबारे मतभेद रहेको संकेत गरेको छ।अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि आह्वान गरिरहे पनि तत्काल स्थिति नियन्त्रणमा आउने संकेत देखिएको छैन। द्वन्द्वले मध्यपूर्वी क्षेत्रमा थप अस्थिरता ल्याउने जोखिम बढाएको छ।
विश्वभरका राष्ट्रहरूले दुवै पक्षलाई संयम अपनाउन र वार्ताको बाटो अपनाउन आग्रह गरिरहेका छन्। तर अहिलेसम्म कुनै पनि पक्षले युद्ध विराम गर्ने संकेत दिएको छैन।
असार ७, २०८२ शनिबार २३:२८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।