ब्राजिलमा २१ यात्रु बोकेर उडेको हट एअर बेलुन आगो लागेर जमिनमा खस्यो, ८ जनाको मृत्यु

ब्राजिलमा २१ यात्रु बोकेर उडेको हट एअर बेलुन आगो लागेर जमिनमा खस्यो, ८ जनाको मृत्यु

एजेन्सी : दक्षिणी ब्राजिलको सान्टा क्याटारिना राज्यमा २१ यात्रु बोकेको हट एअर बेलुनमा शनिबार आगलागी हुँदा आठ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।

क्याटारिनाका गभर्नर जोर्गिन्हो मेलोले दुर्घटनाबारे जानकारी दिँदै भने, “बेलुन दुर्घटनामा आठ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइते भएका १३ जनाको उद्धार गरिएको छ।’

ब्राजिलको टेलिभिजनमा प्रसारण गरिएका भिडिओहरूमा प्रैया ग्रान्डे शहरमाथि उडिरहेको बेलुनमा एक्कासि आगो लागेपछि बेलुन जमिनमा खसिरहेको दृश्य देखिएको छ। दुर्घटना हुँदा मौसम सामान्य रहेको र बेलुन आकाशमा दर्जनौं मिटर माथि रहेको जनाइएको छ।

प्रसिद्ध पर्यटकीय गन्तव्य मानिने एटलान्टिक तटीय प्रैया ग्रान्डे साहसिक हट एअर बेलुन यात्राका लागि लोकप्रिय क्षेत्र मानिन्छ।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ। केही दिनभित्रै ब्राजिलमा भएको यो दोस्रो बेलुन दुर्घटना हो। एक साता अघिमात्र दक्षिणपूर्वी साओ पाउलो राज्यमा बेलुन यात्राका क्रममा एक महिलाको ज्यान गएको थियो।

एकपछि अर्को दुर्घटना भइरहँदा ब्राजिल सरकारले यस्ता साहसिक उडानहरूको सुरक्षा मापदण्ड कडा बनाउने संकेत दिएको छ।

असार ७, २०८२ शनिबार २१:१४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।