महोत्तरीमा सर्पदंशको त्रास: असारको एक सातामै २५ घटना

महोत्तरीमा सर्पदंशको त्रास: असारको एक सातामै २५ घटना
Filephoto

महोत्तरी : असारको सुरुवातसँगै परेको पानीपछि महोत्तरी जिल्लामा सर्पदंशका घटनाहरू तीव्र रूपमा बढेका छन्। असार सङ्क्रान्तिदेखि वर्षा सुरु भएसँगै बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा २५ जना सर्पदंश पीडित उपचारका लागि आएका छन्।

नेपाली सेनाको उपचार टोलीमा संलग्न प्राविधिक प्रमुख भोला चौधरीका अनुसार, गर्मीयाम र वर्षात्को मौसममा सर्पहरू दुलोबाट बाहिर निस्कने भएकाले सर्पदंशको जोखिम उच्च हुन्छ। ‘वर्षामा दुलोमा पानी भरिन्छ, गर्मीमा सर्प हावा खान निस्कन्छ – यही बेला सर्पदंशको जोखिम अत्यधिक हुने गर्छ,’ उनले बताए।

केन्द्रको तथ्याङ्कअनुसार वैशाखदेखि हालसम्म १६० जना बिरामीले उपचार लिएका छन्। वैशाखमा ५२, जेठमा ८५, र असारको पहिलो सातामै २५ सर्पदंशका घटना दर्ता भएका छन्। तीमध्ये ६५ वटा घटना विषालु सर्पको डसाइका रहेका छन्।

विसं २०७१ साउन ३१ गते स्थापना भएको उक्त केन्द्रले अहिलेसम्म ३१ हजार ३०७ जनाको उपचार गरिसकेको छ। सेनाले तालिम प्राप्त दक्ष प्राविधिक राखेर उपचार सेवा दिँदै आएको यो केन्द्रमा ‘एन्टी स्नेक भाइल’ लगायत आवश्यक औषधि र सामग्रीहरू पनि पर्याप्त रहेको बताइएको छ।

सर्पदंशका घटनामा विशेष चिन्ताको विषय बर्दिबास नगरपालिका–१, २, ३ र १४ का वडाहरूलाई ‘सर्पको खानी’ मानिँदै आएको छ। तर, पछिल्ला वर्षहरूमा यिनै वडामा सर्पको उपस्थिति कम हुँदै गएको केन्द्र सञ्चालक बोर्डका अध्यक्ष कृष्ण देवकोटाले बताए। ‘अबभन्दा १० वर्षअघि सर्पको संख्या धेरै थियो, अहिले पर्ति जमिनमा खनजोत र घर निर्माण बढेपछि सर्पको बासस्थान घट्दै गएको देखिएको छ,’ उनले भने।

केन्द्रले सर्वसाधारणलाई गर्मी र वर्षायाममा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

असार ७, २०८२ शनिबार १९:३४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।