रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न भएपछि सप्तपाताल पोखरीमा माछा छाडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न भएपछि सप्तपाताल पोखरीमा माछा छाडियो

ललितपुर : रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न भएपछि ललितपुरको ऐतिहासिक र धार्मिक महत्व बोकेको सप्तपाताल पोखरीमा माछा छाडिएको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार, रथयात्रा सकिएपछि जावलाखेलमा भोटे जात्रा सम्पन्न भएपछि स्वर्गलोक र धर्तीलोकमा यस्तो धार्मिक अनुष्ठान सम्पन्न भएको सन्देश दिनुपर्ने जनविश्वास रहेको छ।

सोही परम्पराअनुसार, भैरव मन्दिरमा होम गरी एक जोडी भंगेरा स्वर्गलोकका लागि सन्देश वाहकका रूपमा छुटाइन्छ भने धर्तीलोकमा सन्देश पुगोस् भनेर एक जोडी हिले माछा सप्तपाताल पोखरीमा छाडिने चलन छ।

उनले भने, ‘श्री रातो मच्छिन्द्रनाथको रथयात्रा समाप्त भइसकेपछि जावलाखेलमा भोटे जात्रा देखाइसकेपछि रथजात्रा विधिवत तवरले सम्पन्न भयो भनेर स्वर्गलोक  र धर्तीलोकमा खबर गर्नुपर्छ भन्ने किवंदन्ती छ।  सोही बमोजिम यसको जानकारी गराउनका लागि होम गरी एक जोडी भंगेरालाई त्यहाँ छाडिएको हो। जसले स्वर्गलोकको निम्ति खबर गरिएको मानिन्छ। धर्ती लोकका लागि खबर गर्नलाई एक जोडी हिले माछा सप्तपाताल पोखरीमा छाडेका छौं। यसको महत्व भनेको यही हो।’

असार ७, २०८२ शनिबार १९:१०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।