वडाध्यक्षले सार्वजनिक बोट वृक्ष कटान गरेको विरोधमा स्थानीयले थाले अनसन

जनकपुर : धनुषाको नगराईन नगरपालिका वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलले सार्वजनिक बोट वृक्षहरू कटान गरेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका छन्।
नगराईन नगरपालिकास्थित जटहीमा शनिबार बिहानदेखि दर्जनभन्दा बढी बोटवृक्ष कटान गरेको विरोधमा स्थानीय रोहित चौधरीले अनिश्चितकालीन अनसनमा बसेका छन्।
दर्जनभन्दा बढी आँप, लिची, धातृलगायतका रुखहरु काट्ने क्रममा विरोध गर्दा स्थानीय सत्यम् चौधरीलाई समेत कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलको निर्देशनमा उनका मान्छेहरुले कुटपिट गरेको अनसनकारी रोहित चौधरीले जानकारी दिए।
अनसनमा बस्दै रोहित चौधरीले भने, ‘कार्यवाहक वडाध्यक्ष मण्डलले प्रकृतिलाई दोहन हुने गरी फलफुललगायत प्रकृति तथा वातावरणलाई संरक्षण गर्ने रुखहरु बेमतलबमा काटेको र सोको विरोध गर्दा गुण्डा लगाएर कुटपिट गरेपछि आफूले उनको कार्यशैलीको विरोधमा अनसनमा बसेको छु।’
उनले कार्यवाहक वडाध्यक्षको कार्यशैली र रुख काटेको विरोध गरेपछि गुण्डा लगाएर दुव्र्यवहार गर्दैै कुटपिट गर्न थालेपछि आफू अनसनमा बसेको बताए।
असार ७, २०८२ शनिबार १७:१२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।