संविधान ऊँट जस्तो छ, त्रुटिहरू धेरै छन् : अध्यक्ष लिङ्देन

संविधान ऊँट जस्तो छ, त्रुटिहरू धेरै छन्  : अध्यक्ष लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संविधान र व्यवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै मुलुकको प्रणाली परिवर्तन आवश्यक रहेको औंल्याएका छन्।

शनिबार आयोजित ‘विद्यार्थीसँग जनप्रतिनिधिः विचार विमर्श’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाहरू पूर्ण रुपमा निशुल्क हुनुपर्नेमा जोड दिएका हुन् । 

उनले भने, ‘शिक्षा, स्वास्थ्य पूर्ण रुपमा निशुल्क हुनुपर्छ । शैक्षिक प्रणालीमा आमुल परिवर्तन गरेर शिक्षा प्रणाली गरिखाने खालको हुनुपर्छ । विश्व बजारमा बिक्ने खालको हुनुपर्यो । प्रमाणपत्र प्राप्त गरिसक्दाखेरि उ स्वावलम्बी हुने खालको शिक्षा प्रणाली हुनुपर्छ । शिक्षा प्रणाली आमूल परिवर्तन गर्न आवश्यक छ । अबको शिक्षा प्रणाली गरिखाने खालको हुनुपर्छ, जसले विद्यार्थीलाई आत्मनिर्भर बनाउँछ र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँछ ।’

संविधानबारे बोल्दै लिङ्देनले वर्तमान संविधानलाई ‘ऊँट जस्तो’ भन्दै गम्भीर आलोचना गरे ।  अध्यक्ष लिङ्देनले वर्तमान व्यवस्थामा नै परिवर्तन नआएसम्म देशको अवस्था परिवर्तन हुन नसक्ने दाबी गरे । 

उनले भने, ‘अहिलेको संविधान ऊँट जस्तो भयो । त्रुटिहरुको बण्डल छन् । सबै नराम्रो छ भन्न सकिँदैन तर त्रुटिको मात्रा बढी भयो । जसले गर्दा यो संविधानले काम नै गर्न सकेको छैन । पूर्ण रुपमा यो व्यवस्था परिवर्तन नगरिकन अवस्था परिवर्तन हुन सक्दैन । अहिलेको व्यवस्थालाई ठिक भन्नेहरु मान्छे पो खराब हुन् । समस्या मान्छेमा छ । जसले यो व्यवस्था ल्यायो, संविधान ल्यायो, त्यो ल्याउने नेताहरुमा समस्या छ ।’

कार्यक्रममा उनले देशको राजनीतिक, शैक्षिक र सामाजिक सुधारका लागि व्यापक संरचनात्मक परिवर्तन आवश्यक रहेको धारणा राखे ।

असार ७, २०८२ शनिबार १६:३८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।