रविसँगै पूर्पक्षमा कारागार पुगेको रास्वपा

रविसँगै पूर्पक्षमा कारागार पुगेको रास्वपा
एआईबाट बनाइएको तस्बिर

काठमाडौं : नेपाली टेलिभिजन र रेडियोमा प्रभाव बढाउँदै जाँदा एकाएक अमेरिका पुगेका रवि लामिछाने अमेरिकी नागरिकको रूपमा नेपाल फर्कँदा कानूनमाथि जसरी खेलेर टेलिभिजन यात्रा शुरू गरे, उनको राजनीतिक यात्राको प्रारम्भ पनि त्यो भन्दा फरक भएन।

जसको परिणाम, पार्टी गठन भएको तीन वर्षमै लोकतन्त्रमा पनि ‘राणाकालीन’ झैँ सकस ब्यहोर्यो पार्टीले। तर यसमा शासक र कानूनको व्यवहार कम, उनको त्यही छलछाम र पेलाहा व्यवहार बढी कारक बन्यो।

तीन वर्षमा अकल्पनीय राजनीतिक सफलतादेखि हिरासत हुँदै पुर्पक्षका लागि कारागारसम्म पुगिसके उनी। जसको परिणाम पार्टी स्थापना दिवसको तेस्रो वर्षगाँठ मनाउँदै गर्दा रास्वपाको अबको बाटो के भन्नेबारे प्रष्ट मार्गचित्र देखिँदैन।

‘पुराना दल’को विकल्पसँगै सुसंस्कृत राजनीतिको दाबीसहित उदाएको दलको पार्टी सभापति नागरिकता अनि दोहोरो राहदानीमा तानिएर सहकारी ठगीसम्म पुग्दा राजनीतिक कम, व्यक्तिगत प्रतिरक्षामै अल्झिरहेको छ दल।

पार्टी पंक्तिले उठाउने मुद्दा राष्ट्रिय कम, व्यक्तिगत नै बढी हुँदा विषय छरिएका छन्। मुद्दा ओझेलमा पर्यो। परिरहेकै छ। यसमा पुराना दललाई दोष दिन छाडेको छैन रास्वपा पार्टी पंक्तिले।

तर, यो तीन वर्षको अवधिमा वैकल्पिक भनिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यो अवस्थामा पुग्नुमा पुराना दल भन्दा पार्टी नेतृत्वकै पृष्ठभूमि बढी जिम्मेवार छ भन्ने जानेर पनि सार्वजनिक रूपमा स्वीकार गर्न सकेको छैन पार्टी पंक्तिले। जसको नतिजा दिन प्रतिदिन पार्टी कमजोर बन्दै गएको छ।

अमेरिकी नागरिकको हैसियतमा श्रम स्वीकृति नलिई पारिश्रमिक लिएर नेपाली टेलिभिजनमा काम गरेर भिसाको दुरूपयोग होस् या निष्क्रिय नागरिकताको बलमा नेपाली नागरिकले मात्र प्रयोग गर्न सक्ने कानूनी अधिकारसम्मको प्रयोग वा अमेरिकी नागरिक हुँदा-हुँदै नेपाली राहदानीको प्रयोग, लोकतान्त्रिक देशमै यी सबै कानूनत: दण्डनीय गतिविधि हुन्। उनले यी सबै गरे।

तर जब-जब कानूनी प्रश्न उठ्यो, जायज व्यक्तिगत कानूनी प्रश्नलाई ‘देश बनाउन आएकालाई देखि सहेनन्’ भन्दै षड्यन्त्रको कथा बुन्न छाडेनन् रवि र उनको दलले। हिजो टेलिभिजनको कार्यक्रम सञ्चालक हुँदादेखि उठेका कानूनी प्रश्नको समाधान कानूनी रूपमा नगरी छलछाम नीति लिए। सच्चिने भन्दा पेलपालमै केन्द्रीत भए।

कार्यक्रम सञ्चाकलबाट टेलिभिजनको मालिक बन्नतिर लाग्दा पनि त्यस्तै गरे। टेलिभिजनको मालिक बन्ने रहर बिचैमा त्यागेर राजनीतितिर लाग्दा पनि त्यसै गरे।

पहिलो पटक निर्वाचनमा सहभागी हुँदा नै पाएको सफलता चमत्कारिक थियो। लगत्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि उस्तै चमत्कारै त हो।

तर, यो उपलब्धि हिजोका दिनमा गरेका गैर कानूनी गतिविधि छोप्न पर्याप्त थिएन, भएन। ‘रास्वपाजन’ले स्वीकार्न नसके पनि आजको नतिजा हिजोको त्यहीँ ‘चलिहाल्छ नि!, मलाई कसले छुन सक्छ’ भन्ने दम्भको परिणाम हो। कानून मान्ने भन्दा छल्न रमाउने प्रवृत्ति कारक हो।

सहकारी ठगीमा जुन अल्पकालीन परिणाम आएको छ, त्यो प्रश्न बाहिर छैन। पूर्पक्षको आदेश प्रश्नको घेरामै छ। ऋण दिने र लिने बाहेकलाई पनि जिम्मेवार बनाएको विषय कानूनी परीक्षणमै छ। त्यसको निर्क्यौल अदालतबाट हुने नै छ। कुर्नुको विकल्प छैैन।

पार्टीको नेतृत्व भनेको कार्य समिति हो। त्यसमा व्यक्ति अपवाद हुनुपर्ने हो। तर, रास्वपा सभापति हिरासतमा पुग्दा पार्टी पनि हिरासतकै अवस्थामा पुग्छ। सभापति पुर्पक्षमा जाँदा पार्टी नै पुर्पक्षमा गए समान देखिन्छ। यो चैँ उदेक लाग्दो व्यवहार हो पार्टी पंक्तिको।

रवि रास्वपाको ब्राण्ड हुन्, त्यसमा कुनै शंका रहेन। मतदाताले रास्वपाको नीति भन्दा बढि रविलाई हेरेर मत दिएका हुन्। यसमा थप बहसको अर्थ छैन।

यस्तो अवस्थामा पार्टीको पहिलो महाधिवेशन पनि गर्न नपाइ सभापति कहिले हिरासत त कहिले कारागार पुग्दा पार्टीमा अलमल हुनु स्वभाविक हो। रास्वपा पनि अल्मलियो। तर, कति र कहिलेसम्म अलमलिने?

पार्टीको भविष्यलाई व्यक्ति विशेषको उपस्थिति र अनुपस्थितिले प्रभाव पार्छ नै। तर व्यक्तिसँगै उदाउने र अस्ताउने त हुन्न। वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई हुँदै गिरिजाप्रसाद कोइराला अस्ताए पनि नेपाली कांग्रेस चलायमानै छ। मदन भण्डारी, मनमोहन अधिकारी अस्ताउँदैमा एमाले त अस्ताएन। हो, यी दुवै दलमा उतारचढाव आए तर पार्टी नै कोमामा त गएन।

नयाँ नेतृत्व जन्मिने संकटमै हो। यी दुवै पार्टीको संकटले नेतृत्व जन्मायो तर रास्वपामा यो देखिएन। विधानत: नेतृत्व सामुहिक देखिन्छ दलको। तर, व्यवहार एकल। 

रविबिनाको रास्वपा मतदाताले स्वीकार गर्छन् या गर्दैनन् त्यसको परीक्षण २०८४ मा हुने नै छ। तर, रवि बाहेकका पार्टी नेतृत्वले अहिले नै रास्वपाको भविष्य रविको भविष्यसँग लगेर जोडिदिएका छन्।

उनीहरूको व्यवहारले देखाइरहेको छ बरु मतदाताले रविहीन रास्वपा स्वीकार्न सक्लान् पार्टी पंक्ति र नेतृत्वले स्वीकार्न सक्दैन। हामी पनि नेतृत्व गर्न सक्छौँ, संस्थापक सभापति पुर्पक्षका लागि थुनामा पर्दैमा पार्टी थुनामा परे समान हुन दिँदैनौ भन्ने आत्मविश्वास देखिन्न।

नेतृत्वको विकास, वैकल्पिक राजनीतिको मूल मर्म हो। नेपालकै उदाहरण हेर्ने हो भने पनि उज्जवल थापाले त्यहीँ गरे। उनी नेतृत्वकर्ता थिए विवेकशील दलको। तर, नेतृत्व परीक्षणमा कहिले रन्जु दर्शनालाई अगाडि बढाए त कहिले मिलनलाई।

साझा पार्टीमा मिल्दा सैद्धान्तिक मतभेद हुँदा अल्मलिएनन्। शक्ति कमजोर होला भनेर डराएनन्। समयमै अलग भए। उनको निष्कर्ष सही थियो भन्ने रवीन्द्र मिश्रको वैकल्पिक धारको पलायनले पुष्टि गर्यो।

अकस्मात् उज्जवलको भौतिक शरीर बिलय भयो। तर, उनले जन्माएको नेतृत्व अझै राजनीतिमा सक्रिय छ। हो, कमजोर पक्कै भयो तर हराएका छैनन्। संघर्षमै छन् विवेकशील साझाको नाममा। तर, रास्वपाका नेताहरूमा यति पनि आत्मबल देखिएको छैन।

रवि नेतृत्व क्षमताको आधारमा कारागार बाहिरको मोर्चा सम्हाल्ने नेता छान्ने पक्षमा छैनन्। मतदाताले पत्याएको हैन, हिजोका दिनमा आफूले पत्याएको व्यक्तिलाई जबरजस्ती नेता बनाउन लागेका छन्। जिम्मा पाएका उनी कति कमजोर छन् भन्ने कुरा यसबीचको घटनाक्रमले पुष्टि गरिसक्यो। तर चिन्ता देखिन्न।

कार्यसमितिमा रहेकामध्ये स्वर्णिम वाग्लेको नेतृत्व परीक्षण हुन सक्थ्यो। तर, रविको छनौटमा वैदेशिक रोजगारीमा विवादित डीपी अर्यालै परे। संसदमा केही पर्यो कि मनिष झासँग परामर्श गर्न संसदीय दलका नेता, सचेतकले खुसुरफुसुर गरेका दृष्य टन्नै देखिन्छन्। तर, उनले नि संसदको नेतृत्व गर्न पाएका छैनन्। यी दुवैको अयोग्यता पूर्व कांग्रेसी हुनु बाहेक अन्य केही छ र!

अनि अर्कोतर्फ प्रदेश र केन्द्रको अनुभव भएका विराजभक्त श्रेष्ठ, कानूनको कमाण्ड सम्हाल्ने सोविता गौतम वा शिक्षाको कमाण्ड सम्हाल्ने सुमना श्रेष्ठ नेतृत्वका लागि किन योग्य भएनन्?

संसदमा नयाँ अनुहार पुगेका छन्। तर, पार्टीले जबजब महत्वपूर्ण जिम्मेवारी तोक्यो प्रत्यक्ष निर्वाचित भन्दा समानुपातिक अगाडि देखिए। छोटो समयमै पार्टीभित्र रविले रुचाउने र नरुचाउने समूह भनेर कित्ताकाट भयो। यो लुकेको विषय हैन।

पार्टी रवि मात्रै हैन, उनको केन्द्रीय समितिको छनोट पनि उस्तै विवादित देखियो। संसदीय अभ्यासको प्रारम्भिक चरणमै मन्त्रीका लागि पैसा उठाएको विषयमा सांसदमाथि कारबाही गर्नुपर्यो। छोटै समयका लागि भए पनि दुई पटक सरकारमा गएको दलले ‘यो गर्यौँ’ भन्ने सूची केही रहेन। यसले दलमा समूहगत भन्दा व्यक्तिगत स्वार्थ हावी गरायो।

पार्टीले भन्ने बेलामा मिसन ८४ भने पनि दलकै नेताहरूमा २०८४ मा २०७९ को उपलब्धि रक्षा गर्न सकिन्छ भन्ने आत्मविश्वास देखिन्न। त्यसैले उनीहरूको पर्फर्मेन्स दलको साख बढाउनभन्दा व्यक्तिगत प्रचारमा बढी केन्द्रित देखिन्छ।

दलका सांसदहरू कोही कांग्रेसतिर, कोही एमालेतिर, कोही माओवादीतिर त कोही बालेन शाहको चोटा कोठामा चियाउन थाल्नुले पनि पार्टीभित्र कुन तहको राजनीतिक असुरक्षा बढेको छ भन्ने संकेत हो। यसको विकल्प पुर्पक्षका लागि कारागार पुगेका रविलाई कारागार बाहिर ल्याउने अभियानसँगै उनीसँगै कारागार पुगेको पार्टीको शाख र जनविश्वास फर्काउन राजनीतिक मुद्दामा केन्द्रित हुनुको विकल्प छैन।

रवि लामिछाने दलको एक नेता हुन्, रास्वपाको सर्वस्व हैनन्। २०८४ मा कागताली लागेको हैन, मतदाताले पार्टीको अजेण्डा मन पराएका हुन् भन्ने स्थापित गर्न अब रविसँगै पुर्पक्षका लागि कारागार पुगेको पार्टी नेतृत्व बाहिर नल्याइ सुख छैन। नत्र इतिहासमा रास्वपा एक राजनीतिक अभियान हैन हावाहुरीको राजनीतिमा सीमित हुनेछ।

असार ७, २०८२ शनिबार १४:२७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।