रास्वपाद्वारा पत्रकार सुरेश रजकको परिवारलाई तीन लाख सहयोग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसको अवसर पारेर चैत १५ गते तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ।
पार्टीको स्थापना दिवसको उपलक्ष्यमा शनिबार मृतक पत्रकार रजकको निवासमा पुगी परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।
चेक हस्तान्तरण गर्न पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेल स्व. पत्रकार रजकको घर पुगेका थिए। उनीहरूले स्वर्गीय रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।
सहयोग हस्तान्तरणका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनमा पत्रकारको सुरक्षाप्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी सबै पक्ष जिम्मेवार रहनुपर्नेमा जोड दिएको छ। पार्टीले पत्रकारले बिना कुनै डर र धम्की समाचार संकलन तथा सम्प्रेषण गर्न पाउने वातावरण निर्माण गर्न सबै सम्बन्धित निकाय तथा व्यक्तिहरूलाई आग्रह गरेको छ।
२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा क्रममा समाचार संकलनका लागि पुगेका रजकको आगो बलेको घरभित्रै थुनिँदा मृत्यु भएको थियो।
असार ७, २०८२ शनिबार १३:१५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।