कारागारबाट रविको आरोप : ओली-गगन र लेखक-बडालको षड्यन्त्र तथा प्रपञ्चले फसाए

कारागारबाट रविको आरोप : ओली-गगन र लेखक-बडालको षड्यन्त्र तथा प्रपञ्चले फसाए

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले आफूविरुद्धको अवस्था लोकतन्त्रले नभई सीमित नेताहरूको कुटिल षड्यन्त्र र कानूनी प्रपञ्चका कारण भएको आरोप लगाएका छन्।

कारागारबाट पार्टी स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा एक सन्देश जारी गर्दै उनले एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कुटिल षड्यन्त्रको सूत्रधार तथा कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक र अधिवक्ता रमेश बडाललाई कानूनी प्रपञ्च गरेको आरोप लगाएका हुन्।

लामिछानेले अब आफ्नो जीवनको उद्देश्य व्यक्तिगत उन्मुक्ति नभई सीमित नेताहरूको अहिलेको आपराधिक सिण्डिकेटबाट सिंगो देशको उन्मुक्ति रहेको बताएका छन्। उनले राज्यको पूर्ण पुनःसंरचना गर्ने आफ्नो लक्ष्य दोहोर्याएका छन्।

आफूमाथि अत्याचार गर्ने लोकतन्त्र नभएको बरु ओली-थापाहरूको षड्यन्त्र र लेखक-बडालहरूको कानूनी प्रपञ्च भएको उनले पुनः स्पष्ट पारेका छन्। उनले विधिको शासन यिनीहरूले उहिल्यै समाप्त पारिसकेको र हरेक संवैधानिक निकायमा धारिला हतियार लुकाएको आरोप लगाएका छन्। यो सिण्डिकेटमा केही सीमित नेताबाहेक कोही सुरक्षित नरहेको उनको दाबी छ।

न्यायका लागि सिस्टमभित्रैबाट प्रयास गर्ने भए पनि आश्वस्त नरहेको बताउँदै उनले आफूमाथिको अन्याय ढिलोचाँडो अदालतले देख्ने विश्वास व्यक्त गरेका छन्। उनले न्यायालयप्रतिको आफ्नो विश्वास पूर्ण रूपमा गुमाइनसकेको बताएका छन्।

लामिछानेले अब आफूमाथिको राजनीतिक षड्यन्त्रविरुद्ध जनताको अदालतमा पनि लड्न प्रतिबद्ध रहेको जनाएका छन्। उनले आजबाट आफ्नो मुद्दा दुनियाँकै सबभन्दा ठूलो अदालत, जनताको अदालतमा पनि दर्ता गराउने निधो गरेको उल्लेख गरेका छन्। आफूमाथि राजनीतिक प्रतिशोध साँधेकै हो भन्ने लाग्नेहरूलाई हस्ताक्षर गरी सहयोग गरिदिन पनि उनले अपिल गरेका छन्।

आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको बताउँदै लामिछानेले २०४६ सालपछिका छत्तीस वर्षमा नेताहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कसरी कब्जा गरिसकेका छन् भन्ने कुरा आज संसारले देखेको बताए। यो अपराधपूर्ण घेराबन्दीमा अब आफूसँग जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँ नरहेको उनको भनाइ छ। राज्य यिनको, अड्डा-अदालत यिनको र मिडियासमेत यिनकै भएको उनले दाबी गरे।

नेताहरूले देश र जनतालाई दिएको दुःखका अगाडि आफूले पाएको दुःख केही पनि नभएको बताउँदै उनले यिनीहरूले सिंगो देशलाई नै जेल बनाईसकेको टिप्पणी गरेका छन्।

राजनीतिमा आउनेबारे कहिल्यै नसोचेको र सन्दुक रुइत, कुलमान घिसिङ, राजेश हमाल, अनिलकेसरी शाहजस्ता स्थापित व्यक्तिहरूलाई नेतृत्व लिन आग्रह गर्दा कसैले विश्वास नगरेपछि मात्रै आफैँले सभापति भएर पार्टी दर्ता गरेको उनले स्मरण गराएका छन्।

असार ७, २०८२ शनिबार ११:२७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।