डा. शंकरको उपचार अनुभव : दुई महिनासम्म जुकालाई टोकाएपछि टाउकाको घाउ र कपाल झर्ने समस्या चट्टै

डा. शंकरको उपचार अनुभव : दुई महिनासम्म जुकालाई टोकाएपछि टाउकाको घाउ र कपाल झर्ने समस्या चट्टै

डा. शंकर गौतम आयुर्वेदिक चिकित्सक हुन्। आयुर्वेदका विभिन्न उपचार विधि अपनाई बिरामीलाई सञ्चो बनाउनु अनि रोग नै लाग्न नदिन स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु उनको दैनिकी हो। उनै डा. शंकरले चिकित्सकीय पेशाको सिलसिलामा देखे भोगेका अनुभव उकेरासँग साटेका छन्।

जुकालाई टोकाएर कपाल झर्ने समस्या ठिक भएपछि...
डा. शंकरको चिकित्सकीय पेशामा केही यस्ता प्रसङ्ग छन्, जुन उनी कहिल्यै भुल्दैनन्। त्यसमध्ये एक हो, करिब २५ वर्षका युवाको उपचार। प्रसङ्ग करिब पाँच वर्षअघिको हो। जतिबेला डा. शंकर भारतको जयपुरस्थित ‘नेशनल इन्स्टिच्युट अफ आयुर्वेदा’मा आयुर्वेदको स्नातकोत्तर तहको एमडी अध्ययन गरिरहेका थिए।

त्यो बेला २५ वर्षीय युवा उपचारका लागि अस्पताल पुगेका थिए। ती युवाको टाउकोमा घाउ हुने समस्या थियो। अनि त्यो घाउका कारण छाला सहित नै टाउकाको कपाल पक्लक्क पक्लक्क झर्थ्यो। टाउकोमा घाउ भएर कपाल झरेर सखाप नै हुन लागिसकेका ती युवाले अन्य एलोपेथिक अस्पतालमा उपचार नगरेका हैनन्, तर समस्या ठिक भएनछ।

समस्या ठिक नभएपछि उनी विक्षिप्त बनिरहेका थिए। एक दिन ‘एक पटक आयुर्वेदिक अस्पतालमा गइहेरौँ न त ठिक भइहाल्छ की!’ भन्दै झिनो आशाका साथ उनी आयुर्वेदिक अस्पताल पुगेका रहेछन्।

डा. शंकर लगायतको टिमले ती युवाको टाउकोमा घाउ भएर कपाल झर्ने समस्या पत्ता लगाउने कोसिस गर्यो। परीक्षणपछि समस्याको जड पत्ता लाग्यो। त्यसपछि उनी र उनको टिमले जुका प्रयोग गरी उपचार गर्न सकिने सम्भावना देखेर आयुर्वेदिक उपचार विधिमा प्रयोग गर्न मिल्ने (मेडिकेटेड) जुकाबाट उपचार सुरू गर्यो।

ती युवाको छालाजन्य समस्याको उपचारका लागि डा. शंकरले सबैभन्दा पहिले जुकालाई बेसार पानीमा डुबाएर करिब पाँच मिनेट राखी शुद्धीकरण गरे। शुद्धीकरणपछि ती युवाको टाउकोमा जुकालाई राखिदिए। जुकाले छालाको समस्या भएको ठाउँको खराब रगत चुस्न थाल्यो।

सुरूमा टाउकोमा जुका राख्दा ती युवा तर्सिए। करिब ४५ मिनेट रगत चुसेपछि जुकाले छाड्यो। त्यसपछि उनले जुकाले रगत चुसेको टाउकोको छालाको भाग सफा गरेर रक्तस्राव हुन नदिन औषधि गरेर ‘ब्यान्डेज’ लगाइदिए अनि घाउ भएको ठाउँमा आयुर्वेदिक औषधिको लेपन लगाइदिए।

जुकालाई आयुर्वेदमा ‘जलौका’ भनिन्छ। आयुर्वेद चिकित्सा विधामा जुकाबाट गरिने यस्तो उपचार विधि प्रभावकारी भएको उनले सुनाए। तर, चिकित्सकीय रूपमा उपचार गर्न लायक (मेडिकेटेड निर्विष) जुका हुनुपर्छ, जथाभावी जुन पायो त्यही जुकाबाट उपचार हुँदैन।

यस्ता जुकाले खराब रगत मात्रै चुस्ने डा. शंकरले बताए। चुसेको खराब रगत शरीरमै राखिरहे जुकाको मृत्यु हुने भएकाले उनले जुकालाई पाँच मिनेट बेसार पानीमा डुबाएर राखे। बेसार पानीमा राखेपछि जुकाले चुसेको सबै खराब रगत बान्ता गरेर निकाल्यो।

सबै खराब रगत बान्ता गरिसकेपछि डा. शंकरले जुकालाई सिसाको बट्टामा सफा पानीमा डुबाएर राखिदिए। यसरी राखिएको जुकाको प्रत्येक दिन पानी फेर्नुपर्ने र एक हप्तामा बट्टा फेर्नु पर्ने अनुभव उनले सुनाए।

एउटा जुकालाई एउटा छुट्टै बट्टामा राखिन्छ, तर प्रजनन गराउनुपरे दुई भन्दा धेरै जुकालाई एउटै बट्टामा राखिन्छ र लेउ तथा रगत खान दिनुपर्ने हुन्छ। उपचारको लागि प्रयोग गरिने जुकालाई भने केही खान दिन नपर्ने डा. शंकरले बताए।

यसरी एक हप्ताको अन्तरालमा दुई महिनासम्म ती युवाको टाउकोको घाउमा जुकालाई टोकाइयो र त्यसपछि बन्द गरियो। थप तीन महिना अन्य आयुर्वेदिक औषधिको प्रयोग गरियो। करिब तीन महिनाको उपचारपछि ती युवाको टाउकाको घाउ ठिक भयो, कपाल झर्न छाड्यो र झरेको कपाल समेत पलायो।

टाउकोको घाउ र कपाल झर्ने समस्याले विक्षिप्त भएका ती युवा उपचारपछि समस्या ठिक भएर खुसी नहुने कुरै भएन। ती युवाको समस्या ठिक भएकोमा डा. शंकर पनि खुसी भए।

अहिले पनि ती युवाले बेलाबेलामा सम्पर्क गर्ने गरेको र टाउकाको त्यो समस्या नभएको जानकारी दिने गरेको उनले सुनाए। पछि उनले यो उपचारको विषयमा वैज्ञानिक आलेख लेखे, जुन जर्नलमा प्रकाशित समेत भयो।

भमिट र पखाला गराएपछि १२ वर्षदेखिको छालाको समस्या चैट
त्यसैगरी छालाको अर्को समस्याको उपचार गरेको प्रसङ्ग पनि डा. शंकरको स्मृतिमा ताजै छ। प्रसङ्ग केही वर्ष अघिको हो।

करिब ४४ वर्षीय पुरुष छाला पोल्ने, चिलाउने र फुस्रो हुने जस्तो ‘सोरियासिस’को समस्या भएर उपचारका लागि सिन्धुपाल्चोक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पुगेका थिए। १२ वर्षदेखि त्यस्तो छालाजन्य समस्याले पीडित उनी विभिन्न अस्पताल धाउँदा समेत रोग ठीक नभएर हैरान भएका थिए र समस्या ठिक हुने झिनो आशा बोकेर त्यहाँ पुगेका रहेछन्। छालाको रोगले उनको दैनिकी तनावपूर्ण र शरीर शिथिल बनेको थियो।

डा. शंकरले ती पुरुषको छालाको अवस्था हेरे। उनले आयुर्वेदको पञ्चकर्म अन्तर्गत वान्ता गर्ने ‘वमन’ विधि अपनाई उपचार सुरू गरे। ‘सोरियासिस’को उपचारका लागि पञ्चकर्म विधि अपनाई केही मिनेट वान्ता गराइन्छ, तर यसका लागि करिब तीन हप्ताको पूर्व उपचार प्रक्रिया अपनाउनुपर्ने हुन्छ।

ती पुरुषको ‘सोरियासिस’को उपचारका लागि सबैभन्दा पहिले आयुर्वेदिक औषधि खुवाइयो। अनि आयुर्वेदिक जडीबुटीयुक्त ‘मेडिकेटेड घ्यू’ खुवाइयो। त्यसपछि केही दिन मसाज गर्ने काम भयो र वाफ दिइयो। यी प्रक्रियापछि करिब आधा घण्टा आयुर्वेदिक झोल औषधि खुवाएर वान्ता गराइयो।

त्यसपछि एक हप्ता विशेष किसिमको आयुर्वेदिक उपचार विधि अनुसार खानपिन गराइयो।

केही दिनपछि ‘बिरेचन’ थेरापी विधि अपनाई बिरामीलाई पखाला गराएर उपचार गरियो। यसरी पञ्चकर्म विधि अपनाएर शरीर तथा छालामा भएका विकार तत्त्व हटाएपछि ती पुरुषको सोरियासिसको समस्या क्रमशः ठिक हुँदै गयो।

बीएएमएसमा ‘गोल्ड मेडल’
बागलुङको हालको बागलुङ नगरपालिका वडा नम्बर-८ मा २०४६ मा जन्मिएका शंकरले स्थानीय अमृत आदर्श माध्यामिक विद्यालयबाट २०६१ मा एसएलसी गरे। त्यसपछि काठमाडौं आएर बागबजारस्थित काठमाडौं मोडल कलेजबाट प्लसटु गरे।

सानैबाट चिकित्सक बन्ने रहर भएका शंकर छनोट परीक्षा पार गरेर त्रिभुवन विश्वविद्यालय अन्तर्गत ‘आयुर्वेद क्याम्पस’ कीर्तिपुरमा २०६५ मा आयुर्वेदिक चिकित्सा विषय ‘ब्याचलर अफ आयुर्वेद मेडिसिन एण्ड सर्जरी (बीएएमएस)’ अध्ययनका लागि सरकारी छात्रवृत्ति कोटामा भर्ना भए। उनले २०७१ मा बीएएमएस अध्ययन पूरा गरे र उत्कृष्ट भएकाले ‘गोल्ड मेडल’ समेत पाउन सफल भए।

बीएएमएस अध्ययनपछि डा. शंकर दाङको बिजौरीस्थित नेपाल संस्कृत विश्वविद्यालय (केन्द्रीय आयुर्वेद विद्यापीठ)मा लेक्चररका रूपमा आयुर्वेद अध्ययन गर्ने विद्यार्थीलाई पढाउने काम गर्न थाले।

सरकारी जागिरमा प्रवेश
दाङमा करिब एक वर्ष पढाएपछि डा. शंकर लोकसेवा परीक्षामार्फत २०७२ मा सरकारी स्थायी आयुर्वेद चिकित्सकका रूपमा आठौं तहको जागिरमा प्रवेश गरे। सरकारी जागिरे भएपछि उनी पोष्टिङ भएर सिन्धुपाल्चोकस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यालय प्रमुखको भूमिकामा काम गर्न थाले।

सिन्धुपाल्चोकमा स्रोत साधनको अभावका बावजुद पूर्वकर्म र पञ्चकर्मलगायत आयुर्वेदतर्फका उपचारात्मक सेवाहरू सुरू गरिएको उनले बताए। पूर्वकर्म हाडजोर्नी खिइएको, दुखेको, बाथको समस्या, नसा च्यापिएका जस्ता समस्याको उपचारका लागि गराइने लाभदायक थेरापी हो।

करिब ६ महिना सिन्धुपाल्चोकमा काम गरेपछि उनी काजमा खटिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगे। त्यहाँ आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी विभिन्न नीति नियम बनाउने काममा भूमिका खेलेको उनले सुनाए।

मन्त्रालयमा केही महिना काम गरेपछि डा. शंकर २०७३ मा मुस्ताङस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पुगे र प्रमुखको भूमिकामा रहेर करिब दुई वर्ष काम गरे। मुस्ताङमा आयुर्वेद चिकित्साको क्षेत्रमा धेरै सुधारका काम गर्न सफल भएको उनले बताए।

काय चिकित्साको रस
थप अध्ययनको हुटहुटी भएका डा. शंकर भारतको जयपुरस्थित ‘नेशनल इन्स्टिच्युट अफ आयुर्वेदा’मा छात्रवृत्तिमा भर्ना भएर २०७५ मा आयुर्वेदको स्नातकोत्तर तहको ‘काय चिकित्सा’ विषयमा एमडी पढ्न थाले। एमडी अध्ययनमा पनि अब्बल अङ्क ल्याएका उनी कोरोना भाइरस सङ्क्रमणको समयमा भारतमै थिए र त्यो बेला कोरोना पराजित गर्न विभिन्न आयुर्वेदिक औषधिको प्रयोग भएको अनुभव सुनाए।

तीन वर्षे एमडी अध्ययन सकेपछि २०७८ मा नेपाल फर्किएका उनी आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा करिब तीन महिना काम गरेपछि २०७९ मा मनाङस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पुगे। मनाङमा आयुर्वेद चिकित्सा क्षेत्रको अवस्था साह्रै कमजोर रहेको सम्झने उनी लामो समय काम गर्ने सोचले त्यहाँ गएका थिएनन्।

तर, मन रमाएपछि र आयुर्वेद क्षेत्र सुधारको हुटहुटी चलेपछि प्रमुखको भूमिकामा रहेर करिब साढे दुई वर्ष काम गरी उनले योगलगायत आयुर्वेदिक चिकित्सा क्षेत्रमा धेरै सुधारका काम गर्न सफल भए। उनले सुरु गरेको स्वस्थ मनाङ अभियानले नसर्ने रोग न्यूनीकरणमा सहयोग पुगेको अनुभव सुनाउँछन्। यही सफलताका कारण उनलाई गण्डकी प्रदेश सरकारले उत्कृष्ट प्रदेश निजामती पुरस्कारबाट समेत सम्मान गरेको थियो।

पोखराको दैनिकी
मनाङपछि २०८१ साउनमा सरुवा भएर डा. शंकर कास्कीको पोखरास्थित गण्डकी आयुर्वेद अस्पतालमा पुगे, जहाँ उनी प्रमुखको भूमिकामा कार्यरत छन्। त्यहाँ २५ शय्याको अन्तरङ्ग सेवा सञ्चालन गरी बिरामी भर्ना गरेर उपचार भइरहेको छ, यद्यपि संरचना लगायतका समस्या अझै छन्। उनी आयुर्वेदिक उपचारको क्षेत्रमा विभिन्न सुधारका प्रयास गरिरहेका छन् र अस्पतालमा करिब १५ प्रकारका आयुर्वेदिक चूर्ण औषधि बनाउने गरेको समेत बताए।

अस्पतालमा विशेषगरी हाडजोर्नी, नसा, पायल्स, फिसर र फिस्टुलासँग सम्बन्धित समस्या तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फका पूर्वकर्म, पञ्चकर्म, अकुपञ्चर, मोक्सिब्युसन, कपिङ, कुटी स्वेदन (सौना) जस्ता उपचार विधिका लागि आउने बिरामीको चाप बाक्लो हुन्छ र अधिकांशले यस्ता उपचारबाट लाभ पाएका छन्।

ओपिडी मात्रै सञ्चालन रहेको अस्पतालमा उनले पञ्चकर्म अन्तर्गतका शिरोधारा, कटी बस्ती, जानु बस्ती, ग्रीवा बस्ती, नस्य, एकाङ्ग तथा सर्वाङ्ग स्वेदन र बस्ती तथा विरेचनजस्ता उपचारात्मक विधिको विस्तार गरी बिरामी भर्ना गरेर उपचार गर्ने सेवा सुरू गरेका छन्।

छालाजन्य समस्या, नसा च्यापिएका, बाथ, हाडजोर्नी, बालबालिकामा देखिने अटिजम, पेटसम्बन्धी विकार, मानसिक समस्या, पक्षघातका कारण हातखुट्टा तथा शरीर नचल्ने जस्ता समस्याका लागि आयुर्वेदको पञ्चकर्म विधि असाध्यै प्रभावकारी भएको डा. शंकरको अनुभव छ। विशेषगरी शरीर तथा हातखुट्टा नचल्ने समस्या भएका बिरामीको चाप यहाँ बाक्लै हुन्छ।

आयुर्वेदिक चिकित्सा सम्बन्धी वैज्ञानिक खोज तथा अनुसन्धानमा पनि उनी उत्तिकै रमाउँछन्। डा. शंकरका डेढ दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका जर्नलमा आयुर्वेदिक चिकित्सा सम्बन्धी वैज्ञानिक आलेख प्रकाशित भएका छन्।

असार ७, २०८२ शनिबार १२:०९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।