भैरहवा कारागारबाट रवि लामिछानेको अपिल- ‘म मारिए पनि जनताले भ्रष्ट नेताहरूबाट सत्ता खोसेर हतकडी लगाउनेछन्’

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भैरहवा कारागारबाट देशवासीका नाममा एक अपिल जारी गर्दै आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको र कानुनको दुरुपयोग गरी फसाइएको आरोप लगाएका छन्।
पार्टी स्थापनाको तेस्रो वार्षिकोत्सवको सन्दर्भमा कारागारको ९७२५ नम्बरको थुनुवाका रूपमा आफूले यो अपिल पठाएको उनले उल्लेख गरेका छन्।
अपिलमा लामिछानेले रास्वपाको उदय र जनताको साथ देखेर पुराना शक्तिहरू झस्किएको र आफूविरुद्ध षड्यन्त्रमा लागेको दाबी गरेका छन्। चितवन र तनहुँको उपनिर्वाचन परिणामले उनीहरू अझ तर्सिएको र लुटको स्वर्ग भत्कन्छ भन्ने निष्कर्षमा पुगेपछि आफूविरुद्ध घेराबन्दी सुरू गरेको उनको आरोप छ।
आफूमाथि अन्याय र अपराध हुँदा पनि कानुनी सल्लाहका कारण बोल्न नसकेको अवस्थाको स्मरण गर्दै उनले लेखेका छन्, ‘छत्तीस वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन। यिनीहरूले मलाई जेल हाले भनेर के दु:ख मनाउ गर्नु, जब यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके।’
उनले आफूविरुद्ध चार जिल्लाका नौ/दश वटा अदालतमा मुद्दा झुण्ड्याइएको उल्लेख गरेका छन्।
अपिलमा लामिछानेले आफ्नो मिडिया जीवनदेखि राजनीतिमा आउने निर्णयसम्मको पृष्ठभूमि पनि खुलाएका छन्। ‘सीधाकुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममार्फत नेताहरूसँग संवादको प्रयास गरे पनि त्यसले परिणाम नदिएपछि जनताका पीडा र समस्या ‘सीधाकुरा जनतासँग’ कार्यक्रममार्फत उठाएको बताएका छन्। त्यस क्रममा उनले देशको बेथिति, भ्रष्टाचार, विभेद र ठगी देखेर द्रवित भई सर्वस्व त्यागेर विवेकको लडाइँ लड्ने निर्णय गरेको उल्लेख गरेका छन्।
रास्वपा गठनको प्रक्रियाबारे बोल्दै उनले आफू सभापति हुन नचाहेको र धेरै व्यक्तिलाई आग्रह गर्दा पनि नेतृत्व लिन नमानेपछि बाध्य भएर जिम्मेवारी लिएको बताएका छन्। पार्टीले पाएको जनादेश व्यापारी वा माफियालाई नभई जनताका प्रतिवद्ध प्रतिनिधिलाई दिएको भन्दै उनले एसिड आक्रमणमा परेकी विन्दबासिनी कंसाकार, सुमना श्रेष्ठ, तोसिमा कार्की, सोबिता गौतम, हरि ढकालजस्ता नयाँ अनुहारलाई संसदमा पुऱ्याएको दाबी गरेका छन्।
सहकारी ठगी प्रकरणमा आफूमाथि भएको कारबाहीलाई उनले ‘राजनीतिक प्रतिशोध र कानुनको दुरुपयोग’ को संज्ञा दिएका छन्। संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले समेत सहकारीबाट गोरखा मिडियामा आएको रकमको प्रक्रियामा आफ्नो संलग्नता पुष्टि नभएको तर खर्च र परिचालनमा जिम्मेवार हुनसक्ने उल्लेख गरेको भन्दै उनले आफूविरुद्ध कम्पनी ऐन अनुसार नभई सहकारी ऐनअनुसार मुद्दा चलाइएकोमा आपत्ति जनाएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्ने मूल उद्देश्यले बनेको समितिले हजारौं बचतकर्ताको दुःख बिर्सेर आफूमाथि मात्र कारबाही सिफारिस गरेको बताएका छन्।
कानुनी प्रक्रियामा भएका विसंगतिबारे बोल्दै उनले सहकारी ऐन अनुसार ९० दिनभित्र मुद्दा दायर गर्नुपर्नेमा हदम्याद नाघेर मुद्दा चलाइएको, अन्य दलका नेता तथा तिनका आफन्त सहकारी ठगीमा संलग्न हुँदा सामान्य धरौटीमा छाडिएको वा मुद्दा चलाइए पनि सरकारी पक्ष पुनरावेदनमा नगएको तर आफूलाई अनेकौं मुद्दा लगाएर फसाइएको तर्क गरेका छन्।
पक्राउ गर्दा प्रहरीले अपनाएको तरिका, फरक-फरक युनिटले फरक-फरक कारण देखाएको, अदालतको आदेशबिनै पक्राउ गरिएको जस्ता घटनालाई उनले ‘गैरकानुनी सिन्डिकेट’ले चलाएको राज्यको उपमा दिएका छन्।
गोरखा मिडियामा आएको पैसा सहकारीबाट आएको भन्ने आरोपबारे प्रस्टीकरण दिँदै उनले कम्पनीको आधिकारिक अडिट रिपोर्टमा जीवी राईले हेटौंडाको जग्गा बेचेर सर्टट्रम लोनका रूपमा पैसा ल्याएको उल्लेख भएको बताएका छन्।
आफू कुनै पनि सहकारीको सदस्य, सेयरधनी, ऋणी वा कर्मचारी नभएको भन्दै उनले आफ्नो नाममा ऋण देखाइएको खाता ‘फर्जी’ भएको दाबी गरेका छन्। कम्पनीको वित्तीय कारोबारमा आफ्नो प्रत्यक्ष संलग्नता नभएको र जीवी राईको स्रोतबारे जान्ने अधिकार वा दायित्व आफूलाई नभएको उनको भनाइ छ।
वर्तमान राज्य व्यवस्थालाई उनले सीमित नेताहरूले ३६ वर्षमा तयार गरेको ‘आपराधिक सिन्डिकेट’को संज्ञा दिँदै राज्यका अंगहरू (न्यायपालिका, संवैधानिक निकाय, प्रहरी) भागबन्डाका आधारमा चलेको आरोप लगाएका छन्। न्यायपालिकाप्रति आशा भए पनि त्यहाँ पनि दबाब रहेको संकेत गर्दै उनले अब जनताको अदालतमा लड्ने घोषणा गरेका छन्।
आफ्नो कारागार बसाइलाई उनले व्यक्तिगत नभई सिङ्गो देशको नियतिसँग जोडेका छन्। उनले भ्रष्टहरूलाई जोगाउन आफूमाथि हमला भएको र आफूलाई ‘बलि’ चढाइएको बताएका छन्। यद्यपि, आफू विचलित नभएको र यो ‘हतकडी’ एउटा ‘बिउ’ भएको समेत उल्लेख गरेका छन्।
लामिछानेले आफू मारिए वा नरहे पनि जनताले भ्रष्ट नेताहरूबाट सत्ता खोस्ने र हतकडी लगाउने दिन आउने विश्वास व्यक्त गरेका छन्। उनले ‘स्वर्गजस्तो देशलाई नर्क बनाएका अपराधीहरू षड्यन्त्रकै बलमा अब धेरै दिन जोगिन नसक्ने’ ठोकुवा गरेका छन्।
‘स्वर्गजस्तो देशलाई नर्क बनाएका अपराधीहरु षड्यन्त्रकै बलमा अब धेरै दिन जोगिन सक्ने छैनन्,’ उनले भनेका छन्, ‘म मारिएछु भने पनि जनताले यिनीहरूका हातबाट तस्करले दिएका घडी खोस्नेछन् र हतकडी लगाउनेछन्। त्यो दिन धेरै टाढा छैन।’
यस्तो छ सभापति लामिछानेको अपिल:
असार ७, २०८२ शनिबार १०:०६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।