सभापति लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी सुनियोजित मुद्दा लगाइएको रास्वपाको आरोप

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी सुनियोजित षड्यन्त्रस्वरूप अनेकौं मुद्दा लगाइएको आरोप लगाएको छ। पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा कार्यवाहक सभापति डोल प्रसाद अर्यालले शुभकामना सन्देशमार्फत यस्तो आरोप लगाएका हुन्।
सन्देशमा अर्यालले परिवर्तनका पक्षधर शक्तिलाई कमजोर बनाउन यस्तो गरिएको दाबी गर्दै यस परिस्थितिलाई आफूहरूले जटिल र चुनौतीपूर्ण परिस्थितिका रूपमा लिएको उल्लेख गरेका छन्। उनले सभापतिको प्रत्यक्ष अनुपस्थितिले अभिभावकीय स्थान रिक्त भए पनि राज्यको अनुदार चरित्रले पार्टीलाई थप एकताबद्ध र दृढ बनाएको बताएका छन्।
रास्वपाले लामिछानेविरुद्ध लगाइएका मुद्दाहरूको कानुनी लडाइँलाई सशक्त बनाउँदै सुनियोजित षड्यन्त्रको जनस्तरबाट समेत प्रतिवाद गरिरहेको सन्देशमा जनाइएको छ।
पार्टीले स्थापना दिवसको अवसरमा वैकल्पिक राजनीतिको बलियो जग स्थापना गर्ने अठोटका साथ यात्रा सुरू गरेको स्मरण गर्दै यो छोटो अवधिमा मन र मतमार्फत प्रदर्शित अपार जनविश्वासप्रति कृतज्ञता व्यक्त गरेको छ।
सन्देशमा पार्टी विस्तार र सुदृढीकरण अभियानलाई ‘अभियानकै रुपमा’ निरन्तरता दिइएको उल्लेख छ। यसले संगठनलाई जीवन्त र अनुशासित बनाउँदै आम नागरिकको आवाज सशक्त बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
संसदमा आफ्नो उपस्थिति प्रभावकारी बनाउने, सरकारका गलत कामको खबरदारी गर्ने र जनमुखी कानुन निर्माणमा निर्णायक भूमिका खेल्ने पार्टीको संकल्पलाई पछिल्ला घटनाक्रमले थप दृढ बनाएको अर्यालले बताएका छन्।
सन्देशमा दशकौंदेखिको ‘दलतन्त्रको सिन्डिकेट’ले सिर्जना गरेका विकृति-विसंगतिका विरुद्ध भण्डाफोर अभियानमा रहेको पनि जनाइएको छ। विधिको शासन र जनमैत्री सेवकको नीतिको अक्षरशः कार्यान्वयनले मात्र विद्यमान निराशा र आक्रोश अन्त्य हुने विश्वास व्यक्त गर्दै पार्टीको मूल खबरदारी यसमै केन्द्रित रहने उल्लेख छ।
महंगी, बेरोजगारी, स्वास्थ्य, शिक्षा लगायत आमनागरिकका जनजीविकाका सवालमा आउँदा दिनमा अझ प्रखर रूपमा प्रस्तुत हुने र सडकदेखि सदनसम्म जनताको आवाजलाई निरन्तर बुलन्द बनाइरहने प्रतिवद्धता पनि सन्देशमा व्यक्त गरिएको छ।
तेस्रो स्थापना दिवसको सन्दर्भमा जारी गरिएको सन्देशमा यात्रामा अनेकौं बाधा चुनौती आउने भए पनि आम नागरिकको अटुट विश्वास र समर्थन नै सबैभन्दा ठूलो शक्ति रहेको उल्लेख गर्दै पार्टी स्थापनासँगै गरेको संकल्प पूरा गर्न एकजुट हुन आह्वान गरिएको छ।
असार ७, २०८२ शनिबार ०९:४१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।