सभापति जेलमै रहँदा तेस्रो स्थापना दिवस मनाउँदै रास्वपा, पार्टीको तीन वर्षे यात्रामाथि समीक्षा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो तेस्रो स्थापना दिवस मनाउँदैछ। वैकल्पिक राजनीतिको नारासहित २०७९ असार ७ गते स्थापना भएको यो पार्टीले छोटो समयमै संसदमा बलियो उपस्थिति जनाएको थियो।
तर, यसपटक पार्टीका संस्थापक सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेकाले उहाँको अनुपस्थितिमा दिवस मनाइँदैछ। लामिछानेमाथि विभिन्न सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लागेको छ। यी आरोपहरू पार्टी स्थापना हुनुअघिकै विभिन्न प्रकरणसँग सम्बन्धित छन्।
सभापतिमाथि लागेका आरोपका कारण यो बीचमा पार्टीको सांगठनिक काम प्रभावित भएको र सिंगो पार्टी सभापतिको बचाउमा लाग्नुपरेको अवस्था छ। रास्वपाका नेताहरूले भने सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै आएका छन्।
पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले यो तीन वर्षको अवधिमा सरकारबाहिर रहँदा वा दुईपटक गरी सरकारमा जाँदा पार्टीले सुशासन र जनताको पक्षमा उत्कृष्ट काम गरेको दाबी गरे।
कार्यवाहक प्रवक्ता मनिष झाले राजनीतिक प्रतिशोधमा नपरेको भए तीन वर्षमा पार्टी निकै अगाडि बढ्ने बताए। तेस्रो स्थापना दिवसमा नेतृत्वको अनुपस्थितिप्रति दुःख व्यक्त गर्दै उनले दुई-दुई पटक सरकारमा जानुलाई गल्ती नभई धेरै कुरा सिक्ने अवसरका रूपमा लिएको बताए।
स्थापनाको छोटो समयमै प्रतिनिधिसभामा २१ सिटसहित चौथो ठूलो शक्तिका रूपमा उदय हुनु र आक्रामक रूपमा संगठन विस्तार गर्नु रास्वपाको शुरुआती सफलता थियो।
तर, सभापतिसहित विभिन्न नेतामाथि लागेका ठगी प्रकरण, पुराना दलहरूसँग मिलेर सरकारमा जानु, सभापतिको बचाउमा सिंगो पार्टी लाग्नु र पार्टीभित्रका आन्तरिक विवादका कारण रास्वपाले अपेक्षा गरिएजस्तो गति लिन नसकेको विश्लेषण हुने गरेको छ।
पार्टीले आज विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदैछ।
असार ७, २०८२ शनिबार ०८:३८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।