प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे, समितिमा सदस्य हेरफेरदेखि बजेटमाथि छलफलसम्म

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (शनिबार) बिहान ११ बजे बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ।
बैठकको सुरुमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ।
यस्तै, बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथि समूहीकृत छलफल हुनेछ। आज संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसङ्ख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह, र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ।
आजको बैठकमा सांसद अमरेश कुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत ती मन्त्रालयहरूको खर्च रकमलाई घटाएर एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।
यद्यपि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानविनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले विरोध गरिरहेका छन्।
असार ७, २०८२ शनिबार ०८:११:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।