त्रिकोणात्मक टी-२० सिरिज : ब्याटिङ ‘कोल्याप्स’ हुँदा स्कटल्याण्डसँग नेपाल ३४ रनले पराजित

काठमाडौं : कमजोर ब्याटिङ प्रदर्शनका कारण नेपालले त्रिदेशीय टी-२० आई शृंखलाको अन्तिम खेलमा स्कटल्याण्डसँग पराजय बेहोरेको छ। ग्लास्गोस्थित टिटवुड क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा स्कटल्याण्डले नेपाललाई ३४ रनले हरायो।
स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा सबै विकेट गुमाउँदै १५९ रनमा अलआउट भयो। नेपालका लागि रुपेश सिंहले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ३ चौका र ४ छक्कासहित ४३ रनमा अविजित रहे। यस्तै, दीपेन्द्रसिंह ऐरीले २२ बलमा २ चौका र २ छक्कासहित ३४ तथा कप्तान रोहित पौडेलले २१ बलमा २ चौका र १ छक्काको मद्दतमा २७ रनको योगदान दिए।
लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात निकै खराब रह्यो। पहिलो ओभरमै कुशल भुर्तेल (४) रनमा आउट भएपछि लगातार विकेट पतन भयो। पावरप्लेभित्रै नेपालले ४ विकेट गुमायो। भीम सार्की १२, आसिफ शेख १४ र आरिफ शेख ५ रनमा आउट हुँदा नेपाल ४३-४ को नाजुक अवस्थामा पुगेको थियो। त्यसपछि दबाबमा आएको नेपालले लगातार विकेट गुमायो। दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले केही समय क्रिजमा टिकेर साझेदारी गरे पनि त्यसले निरन्तरता पाउन सकेन।
स्कटल्याण्डका लागि बलिङमा क्रिस ग्रिभ्सले ३ ओभरमा २७ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए। सफियान सरिफले २ तथा मार्क वाट, माइकल लिस्क र ब्रान्डन म्याकमुलेनले १-१ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको थियो। स्कटल्याण्डका लागि ओपनर जर्ज मन्सेले आक्रामक ब्याटिङ गर्दै ३९ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७८ रन बनाए। ब्रान्डन म्याकमुलेनले ४२ रनको योगदान दिए। अन्तिममा माइकल लिस्क २६ र म्याथ्यु क्रस १७ रनमा अविजित रहे।
स्कटल्याण्डको इनिङ्समा जर्ज मन्से र ब्रान्डन म्याकमुलेनले दोस्रो विकेटका लागि १०० रनको शतकीय साझेदारी गरेका थिए। एक समय १ विकेट गुमाएर १३४ रन बनाएको स्कटल्याण्डले ११ रन जोड्दा थप ३ विकेट गुमाएर १४५-५ को अवस्थामा पुगेको थियो। तर, छैटौं विकेटका लागि माइकल लिस्क र म्याथ्यु क्रसले अविजित ४८ रनको साझेदारी गर्दै टोलीको स्कोर १९३ रनमा पुर्याए।
नेपालका लागि बलिङमा कुशल भुर्तेलले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए। सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहको नाममा १-१ विकेट रह्यो।
यस शृंखलामा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्सलाई एक-एक पटक हराएको थियो भने नेदरल्याण्ड्ससँग सुपर ओभरमा र यस खेलमा स्कटल्याण्डसँग पराजित भयो। कुल चार खेल खेलेको नेपालले २ जित र २ हारसहित शृंखला अन्त्य गर्यो।
यस शृंखलामा सहभागी तीनवटै टोली स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपालले समान २-२ खेलमा जित हात पार्दा २-२ खेलमा हार बेहोरेका छन्। जसका कारण शृंखलाको विजेताको टुङ्गो नेट रन रेट (एनआरआर) का आधारमा लाग्नेछ।
असार ७, २०८२ शनिबार ०७:०३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।