बढ्दो इरान-इजरायल द्वन्द्वबीच कूटनीतिक समाधान खोज्दै युरोप

बढ्दो इरान-इजरायल द्वन्द्वबीच कूटनीतिक समाधान खोज्दै युरोप

जेरुसेलम : इरान र इजरायलबीच जारी सैन्य तनावले चर्को रूप लिँदै गर्दा युरोपेली देशहरू कूटनीतिक समाधानको खोजीमा लागेका छन्। शुक्रबार जेनेभामा इरानका विदेशमन्त्री आबास अराघची र युरोपेली शक्तिहरूबीच वार्ता सुरु भएको हो।

फ्रान्स, बेलायत, जर्मनी र युरोपेली संघका कूटनीतिज्ञहरूले युद्ध रोक्न कूटनीतिक उपाय खोज्न पहल थालेका छन्। फ्रान्सका राष्ट्रपति म्याक्रोँले वार्तालाई प्राथमिकता दिनुपर्ने बताएका छन् भने बेलायती विदेशमन्त्री डेभिड ल्यामीले केही दिनभित्रै शान्तिका लागि पहल हुने बताएका छन्।

यसबीच, इजरायलले इरानको आणविक केन्द्रमाथि रातभर आक्रमण गरेपछि इरानले पनि दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको छ। इजरायलमा क्षेप्यास्त्र आक्रमणका कारण दुईजना घाइते भएका छन् भने युद्ध सुरु भएयता कम्तीमा २५ जना इजरायलीको मृत्यु भएको छ। इरानले आफ्नो पक्षमा २२४ जनाको ज्यान गएको दाबी गरेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सबै पक्षलाई “शान्तिलाई अवसर दिन” आग्रह गरेका छन्। अर्कोतर्फ, इजरायलले युरोपेली मुलुकहरूलाई इरानमाथि कडा अडान लिन दबाब दिँदै वार्ता प्रक्रियामा सहभागी नहुने बताएको छ।

युद्धको विरोधमा शुक्रबार इरान र इराकमा हजारौं जनाले प्रदर्शन गरेका छन्। इरानमा सर्वोच्च नेता खामेनीको समर्थनमा नाराबाजी गरियो भने इराकमा धर्मगुरु मोक्तादा सदरका समर्थकहरूले इजरायलविरुद्ध र्याली निकाले।

चर्किँदो द्वन्द्वका बीच बेलायतले इरानबाट आफ्ना कूटनीतिज्ञहरू फिर्ता बोलाएको छ भने स्विट्जरल्याण्डले तेहरानस्थित दूतावास अस्थायी रूपमा बन्द गरेको छ।

स्थिति थप संवेदनशील बन्दै जाँदा युद्ध रोक्ने कूटनीतिक प्रयास सफल हुने कि चर्कदो द्वन्द्वले अझै गम्भीर मोड लिने भन्नेमा चासो बढ्दो छ।

असार ६, २०८२ शुक्रबार २१:५२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।