नागार्जुनका मेयर मोहनबहादुर बस्नेतले पद्मा कोलोनीबाट नौ करोड घुस लिएको अदालतको ठहर

काठमाडौं : विशेष अदालतले काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले नौ करोड घुस लिएर भ्रष्टाचार गरेको ठहर गरेको छ। शुक्रवार अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो।
उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुस १५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले उनी विरूद्ध सम्पत्ति शुद्धीकरण र घुस लेनदेन मुद्दा दायर गरेको थियो। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्।
उनलाई पद्मा कोलोनीका अध्यक्ष राजु प्रसाद कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्ने प्रयोजनका लागि घुस दिएको आरोप थियो। अख्तियारका अनुसार उनले मेयर बस्नेतलाई ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस दिएका थिए। अदालतले उनले उक्त घुस लिएको देखिएको आदेशमा स्पष्ट रूपमा उल्लेख गरेको छ।
सम्पत्ति शुद्धीकरण मुद्दा
अख्तियारले सम्पत्ति शुद्धीकरणमा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरेको थियो। यस मुद्दामा पनि अदालतले उनलाई दोषी देखाएको हो। अदालतले उर्मिला बस्नेत (मेयरकी श्रीमती)
अख्तियारले मेयरकी मेयर बस्नेतकी श्रीमती उर्मिलालाई पनि प्रतिवादी बनाएको थियो। तर अदालतले उनलाई निर्दोष ठहराएको छ। उनको हकमा जानी जानी घुस रिसवतको रकम लिए खाएको वा भुक्तानी गर्न लगाएको भन्ने तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन नसकेको फैसलामा उल्लेख छ। उर्मिलाले घुस लिएको र सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएकी छिन्।
पद्मा कोलोनीका सञ्चालक राजु प्रसाद कँडेललाई सम्पत्ति शुद्धीकरणमा दाबी नपुग्ने भन्दै सफाइ दिए पनि उनलाई घुस दिएको कसुरमा भने अदालतले दोषी ठहर गरेको छ।
मेयर बस्नेत र राजु प्रसाद कँडेलको सजाय निर्धारण गर्नका लागि असार १६ गतेको लागि पेसी तोकिएको छ। अदालतले दोषी ठहर गरेपछि अब उनीहरूले कति सजाय पाउने भन्ने कुराको टुंगो लाग्नेछ।
असार ६, २०८२ शुक्रबार २०:२२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।