मुकुल रास्वपाको महामन्त्री नरहेको पत्र सार्वजनिक गर्‍यो पार्टीले

मुकुल रास्वपाको महामन्त्री नरहेको पत्र सार्वजनिक गर्‍यो पार्टीले

काठमाडौँ : निर्वाचन आयोगमा रहेको विवरणमा मुकुल ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री नै रहेको पत्र सार्वजनिक भएपछि पार्टीले २०८१ असार २५ मा आयोगमा दर्ता गरेको अद्यावधि विवरण सार्वजनिक गरेको छ। शुक्रवार मुकुल पार्टीको महामन्त्री नै रहेको पत्र सार्वजनिक भएपछि पार्टी प्रवक्ता मनिष झाले आयोगमा दर्ता गरेको पत्र सार्वजनिक गरेका हुन्।

उनले सार्वजनिक गरेको पत्रमा पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार पार्टी पदाधिकारीमा भएको फेरबदलको अभिलेख अद्यावधिक गर्न आयोगमा २०८१ साउन १७ गते निवेदन पेस भएको देखिन्छ। सो निवेदनमा महामन्त्रीमा मुकुलको नाम छैन।

‘सो निवेदनको सम्बन्धमा निर्वाचनबाट हेरफेर भएको विवरण अनुसार काम गर्नु र निर्वाचन आयोग समेतले सोही हेरफेर भएको विवरण अनुसार काम गर्नेछ भन्ने सूचनाहरू दिँदै आएको थियो,’ कार्यवाहक प्रवक्ता झाले भने‘ पार्टीको तर्फबाट आधिकारिक निवेदन गरिसकेपछि सो सम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएकोले हालसम्म किन अद्यावधिक गरिएन यसको जवाफ निर्वाचन आयोगले नै दिनुपर्ने देखिन्छ।’

पार्टी केन्द्रीय समितिको २०८१ असार २५ को निर्णय अनुसार पार्टी पदाधिकारीमा भएको फेरबदलको अभिलेख अद्यावधिक गर्न आयोगमा साउन १७ मा दर्ता भएको निवेदनमा रवि लामिछाने सभापति, डोल प्रसाद अर्याल र डा स्वर्णिम वाग्ले उप-सभापति, कवीन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन कुमार आचार्य सह-महामन्त्री, लिमा अधिकारी कोषाध्यक्ष, वसुमाया तामाङ र दीपक बोहोरा सह कोषाध्यक्ष र मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईँ सह-प्रवक्ता छन्।

पार्टीको अनुशासन विपरीत काम गरेको भन्दै पार्टीले मुकुललाई कार्वाही गर्दै महामन्त्री र पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको थियो। मुकुलले आयोगमा रहेको पार्टी पदाधिकारीहरूको अद्यावधिक विवरण माग्दै दिएको निवेदनको उत्तरमा आयोगले ढकाल महामन्त्री पदमै कायम रहेको विवरण खुलाउँदै पत्र दिएको थियो।

असार ६, २०८२ शुक्रबार २०:०२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।