६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी अमला दुई वर्षपछि पक्राउ

६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी अमला दुई वर्षपछि पक्राउ

काठमाडौं : चिनिया नागरिकसँगको संलग्नतामा सङ्गठित रूपमा भएको करिब ६१ किलो सुन तस्करीमा जोडिएर फरार रहेकी अमला रोक्का पक्राउ परेकी छिन्। करिब दुई वर्षपछि शुक्रवार उनी पक्राउ परेकी हुन्। तस्करीमा नाम जोडिएसँगै फरार रहेकी उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलबाट रेड कर्नर नोटिस समेत जारी गराएको थियो। आफ्नो देशबाट बाहिर भागेको फरारको नाममा यस्तो नोटिस जारी हुन्छ। तर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई शुक्रवार काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरेको दाबी गरेको छ।

पक्राउ परेको रोक्का सुन तस्करीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्। दावा तिब्बती मूलका बेल्जियन नागरिक हुन्। यी दुवै मिलेर ठमेलमा भियना होटेल सञ्चालन गरिरहेका थिए। दावाले सो होटेललाई अपराधको योजना निर्माणमा प्रयोग गर्दै आएकी थिइन्।

माओवादी केन्द्रसँग आबद्ध रहेको अमला माओवादीका नेताहरू वर्षमान पुन र नन्दकिशोर पुन र उनको परिवारका सदस्यहरूसँग निकट रहेको खुलेको थियो। वर्षमानसँग बसेर दावाले खाना खाएको तस्बिर समेत सार्वजनिक भएको थियो। नन्दकिशोर पुनका छोरा दीपेश पुनको परिवारसँग उनी निकै घनिष्ठ देखिएकी थिइन्। तर दुवै नेताहरूले परिचित भए पनि उनीसँग अन्य सम्बन्ध नभएको दाबी गर्दै आएका छन्।

६१ किलो सुन कसरी भेटियो?

२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक-शुमा सुन रहेको सूचनापछि राजस्व अनुसन्धान विभागले छापा मारेर सुन बरामद गरेको थियो। भन्सार जाँच पास भएर छुटिसकेको ब्रेकशु विभागले नियन्त्रणमा लिएको थियो। पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो।

ब्रेक शुभित्र ठूलो परिमाणमा सुन भेटिएपछि अनुसन्धानको क्रममा विभिन्न आवरणमा नेपालमा रहेका चिनिया नागरिकहरूको योजनामा लामो समयदेखि सङ्गठित रूपमा सुन तस्करी भइरहेको खुलेको थियो। प्रारम्भमा दिलीप भुजेलको नाममा रहेको रेडी ट्रेड प्रालिले उक्त ब्रेक शु मगाएको खुले पनि प्रहरी अनुसन्धानमा यसमा चिनिया नागरिक, दावा र नेपाली नागरिकहरू संलग्न रहेको खुलेको थियो।

अनुसन्धानमा उनीहरूले विभिन्न नक्कली कम्पनीमार्फत विभिन्न सामानभित्र सुन राखेर तस्करी गर्ने गरेको खुलेको थियो। सुरमा यसको अनुसन्धान विभागले नै गरे पनि पछि सिआइबीले अनुसन्धान प्रक्रिया अघि बढाएर मुद्दा दायर भएको थियो।

दावाको भूमिका

सिआइबीले अनुसन्धान गर्दा दावा तस्करीको सुनको व्यवस्थापकको भूमिकामा रहेको खुलेको थियो। त्यसमा अमला समेत जोडिएकी थिइन्। उनीहरूले मध्यस्थताको भूमिका खेल्ने, भेटघाटको वातावरण मिलाउने, होटेलमा बस्ने लगायतको काममा सहजीकरण गर्ने गरेको खुलेको थियो। उनीहरूको संलग्नतामा चिनिया नागरिकहरूले काभ्रेबाट नेपाली नागरिक बनेर नागरिकता समेत लिएको खुलेको थियो।

विभागले २०८० साउन १४ गते दावा छिरिङलाई पक्राउ गरेको थियो तर श्रीमती रोक्का फरार थिइन्। इन्टरपोलमार्फत २०८० सालमा अमलाको नाममा डिफ्युजन नोटिस जारी भएको थियो। दावालाई २०८० असोज १९ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। दावाले उच्च अदालत पाटनमा निवेदन दिए पनि छुटेको छैनन्।

तर सुन तस्करीका मुख्य योजनाकार रहेका चिनिया नागरिकहरू भने अझैँ पक्राउ परेका छैनन्।

असार ६, २०८२ शुक्रबार १९:४५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।