‘माग्नेराजा’को पोस्टर रिलिजमा पारिश्रमिकको लफडा

‘माग्नेराजा’को पोस्टर रिलिजमा पारिश्रमिकको लफडा
तस्विर : सुरेन्द्र थापा

काठमाडौं : नेपाली फिल्म उद्योगमा कलाकारको पारिश्रमिक सधैं बहसको विषय बन्ने गरेको छ। त्यसमाथि कसको पारिश्रमिक कति भन्ने कुराले कलाकारको स्टारडम पनि तोकिने चलन छ। 

शुक्रबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डवलीमा आयोजित फिल्म ‘माग्नेराजा’ को पोस्टर रिलिज कार्यक्रममा पारिश्रमिककै विषयमा निर्माण पक्ष र पत्रकारबीच चर्काचर्कीको स्थिति सिर्जना भयो। 

पत्रकारले हास्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’लाई ५० लाख पारिश्रमिक दिएको हो? भनेर सोध्दा निर्माता मुनाल घिमिरेले भने, ‘हामीले उहाँलाई ५१ लाख तिरेका छौँ। उधारो १० लाख छ। तर उहाँले मागेको होइन।’ 

निर्देशक ऋषि लामिछानेले माग्नेबुढाको पारिश्रमिक अझै कम भएको टिप्पणी गरे। ‘६१ लाख पनि कम हो, उहाँ एक करोड लिनु पर्ने कलाकार हुनुहुन्छ,’ लामिछानेले भने।

यसैबिच पत्रकारले निर्देशकको छेउमै रहेकी अभिनेत्री वर्षा सिवाकोटीलाई सोधे- ‘पुरुषको पारिश्रमिकको बारेमा गर्वका साथ भनियो। महिला कलाकारको पैसा खुलाउन मिल्दैन भन्नुभयो। यस्तो कुराले चित्त दुख्छ कि दुख्दैन?’

प्रश्न सुनेपछि वर्षा केहीबेर मौन भइन् र जवाफ दिइन्-‘अब त्यस्तो चित्त दुखाई पर्सनल सोचमा फरक पर्न सक्छ। मलाई कहिल्यै कसले कति पैसा लियो, के लियो र पैसाको बारेमा बोल्नै मन लाग्दैन। मैले फिल्म पैसाको लागि काम गरेकै छैन।’ 
उनले थपिन, ‘मैले आजसम्म १६–१७ वटा फिल्ममा काम गरे होला। कुनैमा पनि मेरो यति हो। एउटा कलाकारको कति भ्यालु हुन्छ भन्ने कुरामा मलाई थाहा छैन। कुन हदसम्म कति धेरै हो र कति थोरै हो र भन्ने नै मलाई थाहा छैन। त्यो भएको हुनाले कसले कति पाउँछ, कसले कति पाउँदैन, कसले कति पाउनु पर्ने हो। त्यो लिमिटेसन सायद तोकिएको छैन।’ 

नेपाली अभिनेत्रीहरूमा महँगो पारिश्रमिक लिनेमा एक समय पूजा शर्मा,साम्राज्ञी आरएल शाहलाई मानिन्थ्यो भने पछिल्लो समय स्वस्तिमा खड्काको नाम चर्चामा छ। तर अभिनेत्रीहरूको पारिश्रमिकको विषय भने कमै चर्चामा आउँछ। न यो विषयमा बहस नै हुन्छ।    

‘माग्नेराजा’ मा केदार र वर्षासँगै विल्सन बिक्रम राई (तक्नेबुढा) लगायतको अभिनय रहेको छ। सामिप्यराज तिमिल्सेनाको लेखन रहेको यो फिल्म आगामी भदौ ६ गते प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

असार ६, २०८२ शुक्रबार १६:३४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।