संसदमा बोल्न नपाएपछि पत्रकारलाई प्रधानमन्त्रीको प्रतिप्रश्न- ‘मज्जा लाग्यो?’

काठमाडौं : प्रतिनिधिसभाको शुक्रबारको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीका लागि अपेक्षित रहेन। सांसदहरूले प्रत्यक्ष प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिने भनिएको कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका कारण हुन सकेन।
संसदको सुरुवातमै दुवै दलले विरोध जनाउँदै बैठक चल्न नदिएपछि सभामुख देवराज घिमिरेले बाध्य भएर प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई कार्यसूचीबाट हटाए।
संसदमा प्रश्नोत्तरको मुडमा आएका प्रधानमन्त्री ओली कार्यक्रम रद्द भएपछि बैठक कक्षबाट बाहिरिए। बाहिरिने क्रममा संसद भवन परिसरमा पर्खिरहेका सञ्चारकर्मीहरूले प्रश्न गरे।
पत्रकारहरूले ‘आज संसदमा तपाइँले नै बोल्न पाउनु भएन हैन?’ भन्दै सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरे, ‘मज्जा लाग्यो?’
प्रधानमन्त्रीले प्रत्यक्ष प्रश्नोत्तरका लागि तयारी गरेर आए पनि संसदमा अवरोध भएपछि उनी बोल्न नपाई बाहिरिनुपरेको थियो। यसमा उनको केही आक्रोश समेत मिसिएको थियो।
आजको संसद बैठकमा प्रश्नोत्तर बाहेक ६ वटा मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो। तर, युवा तथा खेलकुद र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री नै संसदमा उपस्थित नभएपछि सभामुखले ती दुई मन्त्रालयको छलफल पनि कार्यसूचीबाट हटाउनुपर्यो।
प्रधानमन्त्रीको प्रश्नोत्तर र दुई मन्त्रालयको छलफल स्थगित भए पनि अहिले भौतिक पूर्वाधार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भने जारी छ।
असार ६, २०८२ शुक्रबार १४:०३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।