कार्यकर्ताको कालो मास्क र गलबन्दी खोल्न लगाउने ओलीका अघि रास्वपाका सांसद्हरूको ‘कालोनिलो’ विरोध (तस्बिरहरू)

काठमाडौं : २०७७ पुस २५ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा तत्कालीन नेकपाको ओलीपक्षीय राष्ट्रिय युवा संघ, नेपालको बागमती प्रदेशले मध्यावधि निर्वाचनको स्वागतमा एउटा कार्यक्रमको आयोजना गर्यो।
पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचनको तयारी र आफ्नो कदमलाई सही साबित गर्न विभिन्न कार्यक्रममा सहभागी हुँदै पार्टीभित्रकै इतर गुट र विपक्षीको कडा आलोचना गरिरहेका थिए।
सोही कार्यक्रममा सोही कार्यक्रममा ओली सहभागी हुने भएपछि कालो रङको कपडा नै प्रतिबन्ध लगाइएको थियो। कालो रङका मास्क र गलबन्दी लगाउनेहरूलाई सुरक्षाकर्मीले झन्डै एक घण्टा लगाएर गेटमै खानतलासी गरेको थियो। त्यसको केही दिनअघि बबरमहलको कार्की बैंन्क्वेटमा कालो कपडा देखाएपछि प्रहरीले त्यतिमसम्म निगरानी र कडाइ गरेको थियो।
त्यसयता पनि ओलीलाई अन्य विभिन्न कार्यक्रममा जाँदा कालो झण्डा देखाइएको छ। त्यस क्रममा कालो झण्डा देखाउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिएर साँझ वा एक रात हिरासतमा राखेर छोड्ने गरेको पाइन्छ।
सामान्यतया विरोध, असहमति, आक्रोश, निन्दा वा तीव्र असन्तुष्टि जनाउँदा कालो रङको प्रयोग गरिन्छ। कुनै नेता वा सरकारी अधिकारीको नीति, वा घटनाप्रति आफ्नो घोर विरोध वा असन्तुष्टि व्यक्त गर्नका लागि सांकेतिक रूपमा कालो कपडा देखाउने गरिन्छ।
कहिलेकाहीँ दुःख वा शोक व्यक्त गर्न पनि कालो रङ्गको प्रयोग हुने भए तापनि, सार्वजनिक स्थलमा कालो झण्डा देखाउनुको मुख्य अर्थ राजनीतिक वा सामाजिक विरोध नै हो।
पाँच वर्षपछि २०८२ असार ६ गते शुक्रबार प्रतिनिधि सभाको बैठकमा पनि प्रधानमन्त्री ओलीको विरोधमा त्यस्तै दृश्य देखियो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै दुई साताभन्दा बढीदेखि विरोध प्रदर्शन गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरू कालो रङको कपडा लगाएर संसद बैठकमा उपस्थित भए।
कोही सांसद कालो ब्लाउज र साडीमा थिए भने कोही कालै कोट र पाइन्टमा। यसरी कालो कपडामा उपस्थित भएर उनीहरूले प्रधानमन्त्रीको प्रश्नोत्तरको क्रममा विरोध जनाउनका लागि तयार भएका थिए। उनीहरूले घाँटीमा निलो स्कार्फ पनि झुन्ड्याएका थिए। नीलो स्कार्फले मानव तस्कर विरुद्धको अभियानलाई इंकित गर्छ।
संसद् सचिवालयले आजको लागि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखेको थियो। कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आज संसद भवनमा आउने पक्का नै थियो।
रास्वपाले बैठकको सुरुमै उठेर विरोध प्रदर्शन गरेपछि सभामुख देवराज घिमिरेले उनीहरूलाई बस्न आग्रह गरे। तर, उनीहरू मान्ने पक्षमा थिएनन्। रास्वपाका सांसदहरूलाई केही समय आग्रह गर्दा पनि नमानेपछि सभामुख घिमिरेले प्रधानमन्त्रीसँगको समन्वयमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर भन्ने कार्यक्रमलाई नै कार्यसूचीबाट हटाए।
त्यसपछि पनि उनीहरूको अवरोध कायमै रह्यो। आफ्नै पार्टीको कार्यक्रममा कार्यकर्ताले लगाएका कालो मास्क र गलबन्दी खानतलासी गर्न लगाउने प्रधानमन्त्रीले रास्वपाका सबै सांसदहरूले कालो लगाएको देखे। सभामुखले प्रश्नोत्तरको कार्यक्रमलाई सूचीबाट हटाएको घोषणा गरेको केहीबेरमा उनी बैठक कक्षबाट बाहिरिए।
सभामुखले संसदको बाँकी काम कारबाही अघि बढाउन खोजेपछि रास्वपा सांसदहरू उठेर वेल घेर्न आए। त्यही क्रममा रास्वपा संसदीय दलका उपनेता बिराजभक्त श्रेष्ठले आफूहरूले आजको बैठक बहिष्कार गर्ने बताए अनि उनीहरू त्यहाँबाट बाहिरिए।
असार ६, २०८२ शुक्रबार १३:४७:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।