विनय खोलामा फसेका २७ यात्रुको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार, १० मिनेटमै खोलाले बगायो बस (तस्बिरहरू)

पूर्वी नवलपरासी : पूर्वी नवलपरासी जिल्लाको विनयत्रिवेणी गाउँपालिका-१ दुम्कीवासस्थित विनय खोलामा पानीको बहाव बढ्दा यात्रुवाहक बसमा फसेका यात्रुको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ।
यात्रुको उद्वार भएको करीव १० मिनेटमा नै खोलाले बस बगाएको थियो।
कठमाडौंबाट दाङको लागि छुटेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस यही असार ५ गते राती करीव १२ बजे उक्त खोला तर्ने क्रममा पानीको उच्च बहावका कारण फसेको थियो। बसमा करीव ३५ देखि ४० जना यात्रु सवार थिए।
फसेका यात्रुमध्ये २७ जनालाई सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीका सशस्त्र प्रहरी नायव उपरीक्षक बिनोद कार्कीको कमाण्डमा सुरक्षा बेश चोरमारा र सर्दिबाट खटिएको सुरक्षा फौजले क्रेन र डोजरको सहायताले सकुशल उद्वार गरेको हो।
बसमा सवार अन्य यात्रु भने बस फस्नसाथ तत्कालै पानी बाहिर निस्कन सफल भएका थिए।
उद्वार गरिएका सबै यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उद्वार कार्य समयमै भएकाले मानवीय क्षति र ठूलो दुर्घटना हुन नपाएको सुरक्षाकर्मीले बताएका छन्।
असार ६, २०८२ शुक्रबार ११:११:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।