‘ओडिआई ब्याटर’को ट्याग मेटाउने भीम र आरिफको मीठो प्रयास

‘ओडिआई ब्याटर’को ट्याग मेटाउने  भीम र आरिफको मीठो प्रयास

काठमाडौं : स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेदरल्यान्ड्सविरुद्धको टी२० अन्तर्राष्ट्रिय खेलमा शानदार जित दर्ता गर्यो।

१७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले दुई बल बाँकी छँदै सहज जित निकाल्यो। जितमा आजै डेब्यु गरेका ब्याट्सम्यान भीम शार्की र आरिफ शेखको प्रदर्शन विशेष रह्यो, जसले आफूमाथि लाग्दै आएको ‘ओडिआई ब्याटर’को ट्याग मेटाउने प्रयास गरे।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले आक्रामक सुरुवात गरे पनि नेपाली बलरहरूले उनीहरूलाई २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रनमा समेट्न सफल भए।

सुरुवाती १० ओभरमा ९९ रन बनाएको नेदरल्यान्ड्सले २०० रन पुर्याउन सक्ने अवस्था देखिए पनि नेपाली बलरहरूले उत्कृष्ट पुनरागमन गरे।

१७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको रन चेज विगतका खेलहरूभन्दा फरक र नियन्त्रित देखियो। टोलीले सुरूदेखि नै रनगति कायम राख्यो।

कुनै पनि ओभरमा ४ रनभन्दा कम रन आएन, जसले गर्दा आवश्यक रनरेट नियन्त्रणभित्र रह्यो र अन्तिममा खेलाडीहरूमाथि अनावश्यक दबाब परेन। यो नियन्त्रित शैलीले नेदरल्यान्ड्स एक मिनेट पनि खेलमा माथि उठ्नै सकेन।

खासगरी एकदिवसीय (ओडिआई) फर्म्याटका लागि चिनिने भीम शार्की र आरिफ शेखले टी२० शैलीमा ब्याटिङ गरेर धेरैलाई प्रभावित पारे।

दुवै खेलाडी हालै सम्पन्न सीडब्लुसी लिग-२ मा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीमध्ये पर्छन्। आरिफले सीडब्लुसीको पछिल्ला चार खेलमा २०८ रन बनाउँदा भीम शार्कीले १५९ रन लगाएका छन्।

टी२० क्रिकेटमा खासै स्थान नपाएका यी दुई खेलाडीले नेदरल्यान्ड्सविरुद्धको खेलमा आफ्नो बलियो उपस्थिति देखाए। भीमले १६ बलमा १६० भन्दा बढीको स्ट्राकइक रेटमा २७ रन बनाए।

उनले दुई चौका र एक छक्का हिर्काएर सुरुवात राम्रो नपाएको अवस्थामा कुशल भुर्तेलसँग मिलेर ३२ बलमा ५४ रनको साझेदारी गरे।

आरिफले पनि मैदानमा आउनासाथ आक्रामक शैली अपनाए। तेस्रो बलमै छक्का प्रहार गरेका उनले सुरूका १० बलमै २ छक्का र ३ चौकासहित २६ रन बनाए।

रिटायर्ड हर्ट हुनुअघि उनले २३ बलमा ३९ रन बनाए, जुन १६० भन्दा बढीको स्ट्राइक रेट थियो। उनले कुशलसँग २७ बलमा ४४ रन र दीपेन्द्रसिंह ऐरीसँग २० बलमा २७ रनको साझेदारी गरे।

उनीहरूले आफूहरू टी२० फर्म्याटमा पनि प्रभावकारी हुनसक्ने क्षमता देखाउँदै यसअघि लाग्दै आएको ‘ओडिआई ब्याटर’ को ट्याग हटाउन भरमग्दुर प्रयास गरे। भीम सार्कीको त यो नै पहिलो टी२० अन्तर्राष्ट्रिय खेल हो।

यसका अलावा ओपनर कुशल भुर्तेलले पनि महत्वपूर्ण अर्धशतकीय पारी खेल्दै टोलीलाई बलियो आधार दिए। उनले लामो समय क्रिजमा टिकेर एक छेउ सम्हाले। अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको अवस्थामा लोकेश बमले पहिलो र तेस्रो बलमा छक्का प्रहार गर्दै टोलीलाई सहज जित दिलाए।

टोलीको ब्याटिङ डेप्थ पनि यस खेलमा स्पष्ट देखियो। नवौं नम्बरमा करण केसी र दशौं नम्बरमा सन्दीप लामिछानेजस्ता खेलाडीको उपस्थिति हुनुले मध्यक्रमका ब्याट्सम्यानलाई खुलेर खेल्ने हौसला मिल्यो। त्यसको फाइदा मध्यक्रमका ब्याट्सम्याले उठाए।

यसअघि रन चेजमा देखिएको सुस्तता र अन्तिम ओभरसम्म खेल पुग्ने शैलीप्रति मुख्य प्रशिक्षक स्टुअर्ट लले असन्तुष्टि जनाउँदै दर्शकलाई ‘हार्ट अट्याक’ नदिन भनेका थिए।

बिहीबारको प्रदर्शनले उनको चिन्तालाई केही हदसम्म भए पनि सम्बोधन गरेको छ। यो शैलीको प्रदर्शनले नेपाललाई आगामी वेस्ट इन्डिज भ्रमण र त्यसपछि हुने विश्वकप छनोटमा राम्रो नतिजा ल्याउन मद्दत पुग्ने देखिन्छ।

असार ६, २०८२ शुक्रबार १०:२५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।