स्वास्थ्य सेवा विभागको खरिद मिलेमतो काठमाडौं महानगरमा आइपुग्यो, एनेस्थेसिया मेसिनको टेन्डरमा स्पेसिफिकेसन नै कपिपेष्ट

स्वास्थ्य सेवा विभागको खरिद मिलेमतो काठमाडौं महानगरमा आइपुग्यो, एनेस्थेसिया मेसिनको टेन्डरमा स्पेसिफिकेसन नै कपिपेष्ट

काठमाडौं : काठमाडौं महानगरपालिकाले अगाडि बढाएको बढाएको ‘एनेस्थेसिया मेसिन’को खरिदको प्राविधिक स्पेसिफिकेसन स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले मिलेमतोमा टेन्डर स्वीकृत गरेको ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनसँग हुबहु मिलेको छ।

उकेराको अध्ययनमा महानगरपालिकाको स्वास्थ्य विभागले २०८२ जेठ २२ मा करिब ४४ लाखमा दुई सेट ‘एनेस्थेसिया मेसिन’ खरिदका लागि टेन्डर आह्वान गरेको मेसिनको प्राविधिक स्पेसिफिकेसन विभागकै कपिपेष्ट भएको पुष्टि भएको छ।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले मिलेमतोमा निकालेको स्पेसिफिकेसन अनुसार २०८२ जेठ ८ (२०२५, मे २२) मा सूचना जारी गर्दै सात करोड ३१ लाखमा २५ सेट ‘ऐनेस्थेसिया मेसिन’ किन्ने टेन्डर स्वीकृत गरेको थियो। महानगरले प्रतिगोटा २२ लाखका दरले ‘एनेस्थेसिया मेसिन’ किन्नेगरि प्रक्रिया अगाडि बढाएको हो।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले टेन्डर स्वीकृत गरेको ‘ऐनेस्थेसिया मेसिन’को टेन्डरको प्राविधिक स्पेसिफिकेसन भारतीय उत्पादक कम्पनी ‘बीपीएल’को ‘इ-फ्लो’ सिरिजको प्राविधिक स्पेसिफिकेसनको क्याटलगमा भएका बुँदा नै कपिपेस्ट गरेर राखिएको थियो। विभागले मिलेमतो अनुसार उत्पादक कम्पनी ‘बीपीएल’कै नेपाली सप्लायर्सलाई टेन्डर स्वीकृत गरेको छ।

महानगरले पनि विभागको त्यही ‘ऐनेस्थेसिया मेसिन’कै टेन्डरको प्राविधिक स्पेसिफिकेसन कपिपेष्ट गरेकाले प्राविधिक स्पेसिफिकेसन र सर्तका अधिकतम बुँदाहरू संशोधन नभए ‘बीपीएल’कै नेपाली सप्लायर्सले टेन्डर पाउने करिब निश्चित देखिन्छ।

यसरी कपिपेस्ट गरियो स्पेसिफिकेसन

काठमाडौं महानगरपालिकाले खरिद प्रक्रिया अगाडी बढाएको ‘ऐनेस्थेसिया मेसिन’ र स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले टेन्डर स्वीकृत गरेको ‘ऐनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसन केही बुँदाबाहेक हुबहु नै मिल्छ। 

महानगरले विभागको स्पेसिफिकेसन कसरी कपिपेष्ट गरेको छ भन्ने उदाहरणका रूपमा हेरौँ न!

महानगरपालिकाले टेन्डर प्रक्रिया अगाडी बढाएको ‘ऐनेस्थेसिया मेसिन’को ‘प्राविधिक स्पेसिफिकेसन’को उपशीर्षकमा ‘टेक्निकल स्पेसिफिकेसन अफ एनेस्थेसिया वर्कस्टेशन वीथ ७ प्यारामिटर पेसेन्ट मनिटर’ उल्लेख छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले पनि जेठ ८ मा खरिद स्वीकृत गरेको ‘ऐनेस्थेसिया मेसिन’को  प्राविधिक स्पेसिफिकेसनको उपशीर्षकमा ठ्याक्कै यही नै वाक्य राखेको थियो।

महानगरले टेन्डर गरेको ‘ऐनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनमा बुँदा नम्बर ‘१’ देखि ‘१२.२’ सम्म छन्। विभागको ‘ऐनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनमा पनि ठ्याक्कै त्यति नै बुँदाहरू थिए।

महानगरले प्राविधिक स्पेसिफिकेसन भित्रका बुँदाहरू पनि सर्लक्कै कपिपेष्ट नै गरेको देखिन्छ। महानगरले टेन्डर गरेको ‘ऐनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘३.३४’ मा भएका सात वटै मापदण्ड स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले टेन्डर स्वीकृत गरेको ‘ऐनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनसँग हुबहु मिल्छन्।

महानगरले टेन्डर गरेको ‘ऐनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘३.३४’ को पहिलो नम्बर (आई) मा ‘टाइडल भोलुम सेटिङः ४० एमएल–१५०० एमएल’ उल्लेख छ। स्पेसिफिकेसनको बुँदा नम्बर ‘३.३४’ को दोस्रो नम्बर (आईआई) मा ‘फ्रिक्वेन्सी: ४–६० बीपीएम’, तेस्रो नम्बर (आईआईआई)मा ‘आईःइः ३ :१-१:६’, चौथो नम्बर (आइभी) मा ‘इन्स्पिरेटोरी पजः ५%–५०%’, पाँचौँ नम्बर (भी)मा ‘प्रेसर कन्ट्रोल: ५–७० सेन्टिमिटर एचटुओ’, छैटौँ नम्बर (भीआई)मा ‘फ्लो ट्रिगरः १–१५एलपीएम र सातौँ नम्बर (भीआइआई)मा ‘प्रेसर सपोर्ट: ५–६० सेन्टिमिटर एचटुओ’ उल्लेख छ।

प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘३.३४’ मा भएका यी सात वटै बुँदा र मापदण्ड काठमाडौं महानगरपालिकाले टेन्डर गरेको ‘ऐनेस्थेसिया मेसिन’का हुन्। जुन बुँदाहरू एउटा अक्षर पनि संशोधन नगरी स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले टेन्डर स्वीकृत गरेको ‘ऐनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनबाटै लिएर राखिएको देखिन्छ।

महानगरले एनेस्थेसिया खरिदका लागि बनाएको स्पेसिफिकेसन।खरिद प्रक्रियामा रहेको ‘ऐनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘३.३४’ मा राखिएका यी मापदण्डहरू मेसिन उत्पादक कम्पनी ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको स्पेसिफिकेसनको क्याटलगमा भएका बुँदाहरू नै हुन्।

अर्को उदाहरण पनि हेरौँ।

महानगरपालिकाले टेन्डर गरेको ‘ऐनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘४.७’ मा भएका ‘इसीजी’ सम्बन्धी दश वटै मापदण्ड स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले टेन्डर स्वीकृत गरेको ‘ऐनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनसँग हुबहु मिल्छन्।

महानगरले टेन्डर गरेको ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘४.७’ को पहिलो नम्बर (आई) मा ‘सुड बी एबल टु मनिटर इसीजी थ्रो ५–लिड पेसेन्ट केबल’ उल्लेख छ। त्यसैगरी बुँदा नम्बर ‘४.७’ को दोस्रो नम्बर (आईआई) मा ‘सुडह्याभ म्यानुअल एसटी एनालाइसिस विन्डो र तेस्रो नम्बर (आईआईआई) मा ‘सुड डिटेक्ट २० आर्थिथ्मिया र जेनेरेट आर्लम्स’ उल्लेख छ।

यी लगायत बुँदा नम्बर चौथो (आइभी), पाँचौँ (भी), छैटौँ (भीआई), सातौँ (भीआईआई), आठौँ (भीआईआईआई), नवौँ (आईएक्स) र दसौँ (एक्स) सम्म सबै बुँदा सर्लक्कै स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले टेन्डर स्वीकृत गरेको ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनमा भएका बुँदाहरूको सामान्य भाषा समेत परिवर्तन नगरी महानगरले कपिपेष्ट गरेर राखेको गरेको देखिन्छ।

महानगरले टेन्डर प्रक्रिया अगाडी बढाएको ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनका नगण्य बुँदाहरूमा सामान्य भाषा परिवर्तन गरे पनि करिब ९९ प्रतिशत मापदण्डका बुँदा भने स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले टेन्डर स्वीकृत गरेको ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनका बुँदासँग हुबहु मिल्छन्।

उदाहरणका रूपमा अर्को बुँदा हेरौँ।

महानगरले टेन्डर गरेको ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘३.३९’ मा ‘सुड ह्याभ मिनिमम ८” इन्च कलर टीएफटी डिस्प्ले वीथ नाभिगेटिङ ह्वील फर इजी अप्रेसन। सर्ट कट किइज् सुड बी प्रोभाइडेड फर इमर्जेन्सी फंशन्स्’ लेखिएको छ। जुन स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले मिलेमतो अनुसार नै टेन्डर स्वीकृत गरेको  ‘एनेस्थेसिया मेसिन’ कै प्राविधिक स्पेशिफिकेशसँग हुबहु मिल्छ।

विभागले यो बुँदा संशोधन गर्दै ‘सुड ह्याभ एप्रोक्स ८” इन्च अर कलर टीएफटी डिस्प्ले वीथ नाभिगेटिङ ह्वील फर इजी अप्रेसन। सर्ट कट किइज् सुड बी प्रोभाइडेड फर इमर्जेन्सी फंशन्स्’ भन्दै सामान्य शब्द मात्रै परिवर्तन गरेको थियो।

बुँदा नम्बर ‘३.३९’ मा भएको यो मापदण्ड विभागको व्यवस्थापन महाशाखाले ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको क्याटलगमा भएको स्पेसिफिकेसनको बुँदाको भाषा मात्रै मिलाएर कपिपेष्ट गर्दै लक्ड गरेको थियो। विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको त्यही प्राविधिक स्पेसिफिकेसन लगेर कपिपेष्ट गरेकाले काठमाडौं महानगरपालिकाको यो प्राविधिक स्पेसिफिकेसनको बुँदा पनि स्वतः ‘बीपीएल’कै कपिपेष्ट हुने नै भयो। र, टेन्डर पनि उसैको नेपाली सप्लायर्सलाई पर्ने नै भयो।

महानगरले ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘३.२१’ मा ‘सुड ह्याभ सिङ्गल सोडा लाईम क्यानिस्टर अफ एप्रोक्स, १.५ लिटर क्यापासिटी। क्यानिस्टर रिमोभल एन्ड फिक्सिङ सुड बी इजी एन्ड टेक्स मिनिमम् टाइम,’ उल्लेख छ।

बुँदा नम्बर ‘३.२९’ मा ‘द वर्कस्टेशन मस्ट ह्याभ इन्टग्रेटेड बुइल्ट–इन भेन्टिलेटर क्यापेबल अफ डेलिभरिङ प्रेसिज् भेन्टिलेसन फर एडल्ट टु पेडियाट्रिक पेशेन्ट्स वीथ एडभान्स्ड प्रपोर्शनल सोलेन्वाइड भल्भ टेक्नोलोजी,’ लेखिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको महाशाखाले पनि ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘३.२१’ र ‘३.२९’ मा ठ्याक्कै यही नै सर्त राखेको थियो। जुन महानगरपालिकाले अक्षरशः कपिपेष्ट गरेको देखिएको छ।

विभागले बनाएको एनेस्थेसियाको स्पेसिफिकेसन।विभागले ‘३.२१’ र ‘३.२९’ मा राखिएका स्पेसिफिकेसनका यी बुँदामा भाषा मात्रै मिलाएर ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको स्पेसिफिकेसनको क्याटलगबाट कपिपेष्ट गर्दै प्राविधिक स्पेसिफिकेसन लक्ड गरेको थियो। यसैबाट नै विभागले  एनेस्थेसिया मेसिनको टेन्डर जुन मेसिन उत्पादक कम्पनीलाई पर्ने गरी मिलेमतोमा प्राविधिक स्पेसिफिकेसन बनाएको थियो, महानगरपालिकाले गरेको टेन्डरमा पनि उही नियति देखियो।

महानगरको ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘३.१०’ मा ‘सुड ह्याभ म्याक्सिमम् फ्लो सेटिङ्स अप टु १० एलपीएम फर इच ग्यास,’उल्लेख छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले गरेको ‘एनेस्थेसिया मेसिन’को टेन्डरको प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘३.१०’ पनि त्यही नै सर्त राखेको थियो।  यो बुँदामा पनि शब्द तलमाथि गरेर ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको क्याटलगकै प्रावधान राखिएको देखिन्छ।

बुँदा नम्बर ‘३.३३’ मा ‘सुड ह्याभ मोड्स अफ भेन्टिलेसन भिसिभी, पीसिभी, एसआइएमभी–भी+पीएस, एसआइएमभी–पी+पीएस, पीएसभी वीथ एप्नेया ब्याक अप (बोथ सिसिटिभी एन्ड पीसिभी अप्सन)’ लेखिएको छ। विभागको टेन्डरको सो बुँदामा पनि उही नै मापदण्ड राखिएको थियो।

 

विभागकै कपिपेष्ट भएकाले प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘३.३३’ मा राखिएका बुँदाहरू  पनि ‘बीपीएल’ ‘इ–फ्लो’ सिरिजको स्पेसिफिकेसनको क्याटलगमा भएको प्राविधिक स्पेशिफिकशनकै बुँदाको भाषा मिलाउने सामान्य मेहनत पनि नगरी सर्लक्कै सारेर राखेको देखिन्छ।

विभागको प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘३.१५’लाई भने महानगरले भाषा छोट्टाउने काम मात्रै गरेको छ। विभागको तुलनामा महानगरले गरेको यो टेन्डरमा आन्तरिक ब्याट्री ब्याकअप’को न्यूनतम क्षमता ‘१८०’ मिनटबाट घटाएर ९० मिनेट भए पनि हुने सर्त राखिएको छ। बुँदा नम्बर ‘३.४२’ मा ‘सुड ह्याभ इन्टर्नल ब्याट्री ब्याकअप फर मोर द्यान ९० मिनेट्स अर मोर–ब्याट्री सुड ब्री लिथियम ब्याट्री’ उल्लेख छ।

विभागको प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘३.४६’ मा भएको बुँदाको भाषा भने परिवर्तन गर्दै ‘इजी टु अप्रेट’ बनाइएको छ। बुँदा नम्बर ‘४.२’ मा पनि भाषा छोट्टाइएको छ।

महानगरको प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘४.३’ मा ‘सुड ह्याभ १२ इन्च अर मोर कलर एलसीडी डिस्प्ले’ उल्लेख छ। विभागको प्राविधिक स्पेसिफिकेसनको त्यही बुँदा नम्बरमा सोही मापदण्ड राखिएको थियो।

महानगरको ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘६.१’ मा ‘पावर सप्लाई: २२०–२४० भोल्ट एसी सिङ्गल फेज, ५० हर्ज फिटेड वीथ एप्रोप्रियट प्लग’ उल्लेख छ।  यो बुँदा पनि स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले खरिद स्वीकृत गरेको ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनसँग हुबहु मिल्छ। यो बुँदामा झुक्काउने किसिमले शब्दमा सामान्य हेरफेर गरेर ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको स्पेसिफिकेसनको क्याटलगमा भएको बुँदा नै टेन्डरको स्पेशिफीकेशनमा कपिपेष्ट गरेर राखिएको देखिन्छ।

त्यसैगरी ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘७.२’ मा ‘इयु–सिइ’ सर्टिफिकेट भएको वा ‘युएस–एफडिए (५१०के)’ सर्टिफिकेट भएको हुनुपर्ने भन्ने सर्त राखिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले गरेको ‘एनेस्थेसिया मेसिन’को टेन्डरको प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘७.२’ मा पनि त्यही नै सर्त राखिएको थियो।

यो मेसिनको पनि तीन वर्षसम्म मात्रै वारेन्टीको समय तोकिएको छ। महानगरको प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर ‘९.१’ मा ‘कम्प्रिहेन्सिभ वारेन्टी फर थ्रि इयर्स आफ्टर एसेप्टेन्स फलोड बाई टु इयर्स एएमसी’, उल्लेख छ। विभागले पनि ठ्याक्कै त्यही बुँदामा त्यही वाक्य राखेको थियो।

प्राविधिक स्पेसिफिकेसनमा भएका यी सबै बुँदाहरु केलाउँदा महानगरले पनि विभागले जुन उत्पादक कम्पनीको नेपाली सप्लायर्सलाई टेन्डर दिएको छ उसैलाई टेन्डर दिनेगरी एनेस्थेसिया मेसिनको खरिद प्रक्रिया अगाडी बढाएको पुष्टि हुन्छ।

खरिदमा भएको बदमासीबारे उकेराले मंगलबार समाचार प्रकाशित गरेपछि महानगरका मेयर बालेन शाहको सचिवालयले महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसीसँग खरिदबारे लिखित जानकारी माग गरेको स्रोतले बतायो। विभागले मिलेमतोमा प्रक्रिया अगाडि बढाएको खरिदको स्पेसिफिकेसन कसरी महानगरको खरिदमा आइपुग्यो भन्नेबारे उकेराले केसीसँग जिज्ञासा राखेको थियो। उनले केवल 'खरिदको विषयमा केही समस्या रहेछ भने प्रिबिड मिटिङपछि सुधार गरिने' प्रतिक्रिया मात्र दिए। 

असार ५, २०८२ बिहीबार २२:४४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।