फिल्ममा चल्न छाडेपछि पलको तर्क- स्टारडम त म्युजिक भिडियोमै छ

काठमाडौं : अभिनेता पल शाह अझै पनि आफूलाई दर्शकको अपार साथ रहेको भ्रममा छन्। बिहीबार काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिज हलमा आयोजना गरिएको आफ्नो फिल्म ‘मोहर’ को गीत रिलिज कार्यक्रममा उनी निकै आत्मविश्वासका साथ प्रस्तुत भए।
‘मलाई सबैले चिन्छन्, अरुलाई होइन’ भन्ने धाक लगाएपछि उनले हलभित्र उपस्थित सबैलाई हँसाए। उनको त्यो रवाफ कतिपयलाई असहज लाग्यो। ‘नेपाल र भारतको बोर्डर क्षेत्रका नागरिकसम्मले मलाई चिन्छन्। अरु कलाकारहरूलाई त बाटोमा हिँड्दा पनि चिन्दैनन्,’ उनले भने।
लामो समयपछि पत्रकारहरूको प्रश्न सामना गरेका पल उत्तर दिन हतारिएको जस्ता देखिन्थे। एक पत्रकारले फिल्म र म्युजिक भिडियोबीचको तुलना गर्दै सोधे, ‘तपाईंजस्तैका प्रतिस्पर्धीले फिल्ममा मात्र काम गर्नुपर्छ भन्छन्, तर तपाईंले फिल्म र म्युजिक भिडियो दुवैमा काम गर्नु भएको छ। तपाईंले यो सोचाइ चिरेको भन्न सकिन्छ, होइन र?’
पलले जवाफमा आफूलाई ‘भयंकर स्टारडम भएको कलाकार’ भनेर चिनाए। उनले भने, ‘नेपालमा फिल्म हेर्ने ३ प्रतिशत मात्रै छन्, बाँकी ९७ प्रतिशतले त गफ काट्छन्। तिनैले फिल्म राम्रो भएन, भन्ने गर्छन्। तर, म म्युजिक भिडियोमार्फत सबैको घर–घरमा पुग्न सकेको छु।’
उनको भनाइमा हलमा फिल्म हेर्न जाने दर्शकले कलाकारलाई चिन्दैनन् तर म्युजिक भिडियो हेरेर भने चिन्छन्।
‘म चाइनाबोर्डर, इण्डियाबोर्डर वा देश-विदेश जता गए पनि मलाई माया दिनुहुन्छ। ‘पलजीको भिडियो हेरेको थिएँ’ भन्नुहुन्छ। चाहे फिल्म नहेरेको होस्, म्युजिक भिडियो त हेरेको हुन्छ,’ उनले भने।
पलले आफ्नो ‘स्टाइल’ फरक भएको बताए। ‘म जनता र दर्शकसँग हात मिलाएर आशिर्वाद लिन्छु। मलाई हलमा बसेर प्रोग्राम गर्नु त्यति मन पर्दैन, बरु मेलामा, मेला महोत्सवमा जान रुचाउँछु,’ उनले थपे।
उक्त कार्यक्रममा पलकै छेउमा उभिएकी नायिका निति शाह भने उनका कुरामा सहज महसुस नगरेको टाढैबाट बुझ्न सकिन्थ्यो।
पलले म्युजिक भिडियो खेल्न आफूलाई अफर आइरहने र अहिले एउटा भिडियो सुट गर्न १० लाख रुपैयाँसम्म खर्च हुने दाबी गरे। ‘म २०–२५ वटा भिडियोमा काम गर्छु। सबैले मन पराउनु भएको छ। तपाईँलाई पनि ४–५ लाख अफर गरे त खेल्नुहुन्छ नि!’ उनले पत्रकारतिर संकेत गर्दै भने।
तर, वास्तविकता भने के छ? पल शाहको पछिल्लो समय प्रदर्शनमा आएका फिल्महरूको अवस्था सन्तोषजनक छैन।
उनले मुख्य भूमिका खेलेको ‘रावायण’ फिल्मले बक्स अफिसमा खासै चर्चा पाउन सकेन। ‘मायाका रंगहरू’ फिल्मबाट उनलाई हटाइएको चर्चा चुलिएको थियो भने ‘महाराजधिराज’ फिल्मबाट पनि अन्ततः उनी बाहिरिए। पलले त्यसको कारण आफूले नै फिल्म बनाउन लागेकाले सम्झौता अनुसार नै बाहिरिएको बताएका थिए।
अब भने उनी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मोहर’ मार्फत पुनः दर्शकको भरोसा जित्न खोज्दैछन्। त्यही दिन निर्देशक राजबहादुर सानेको ‘सिटामोल’ पनि रिलिज हुँदैछ। ती दुई फिल्मबीचको प्रतिस्पर्धामा ‘मोहर’ ले व्यापार गर्न सकेन भने पललाई दर्शकले मात्र होइन् निर्माताले समेत चिन्न छाड्ने अवस्था आउन सक्छ।
असार ५, २०८२ बिहीबार २१:५७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।