स्यानेटरी प्याडमा लगाएको कर हटाउन सर्वोच्चको परमादेश, चार वर्षपछि टुङ्गियो मुद्दा

स्यानेटरी प्याडमा लगाएको कर हटाउन सर्वोच्चको परमादेश, चार वर्षपछि टुङ्गियो मुद्दा

काठमाडौँ : महिनावारी हुँदा प्रयोग गरिने स्यानिटरी प्याडमा सरकारले लगाउँदै आएको कर विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। रिट दायर भएको ४ वर्षपछि सर्वोच्चका न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले परमादेश जारी गरेको हो।

श्रीना नेपाल र अभ्युदय भेटवालले स्यानेटरी प्याडमा कर लगाउनु  २०७८ मा नेपालको संविधान २०७२ को, धारा १६, धारा १८, धारा ३८ को उल्लङ्घन भएको दाबी सहित कर हटाउन सरकारको नाममा परमादेश माग्दै रिट दायर गरेका थिए। रिटमा महिनावारीमा प्रयोग गरिने सम्पूर्ण स्यानिटरी उत्पादनहरूलाई “लक्जरी वस्तु, १३% मूल्य अभिवृद्धि करको दायराबाट हटाइ मूल्य अभिवृद्धि कर छुट हुने वस्तु तथा सेवाहरूको समूहमा राख्न माग गरिएको थियो।

यसैगरि नेपालमा स्थित  स्वदेशी स्यानिटरी उत्पादन केन्द्रहरूलाई स्यानिटरी उत्पादनहरूको उत्पादनमा आवश्यक विभिन्न प्रकारको कच्चा पदार्थहरूको आयातमा लगाइएको भन्सार महसुल र त्यसमा पनि थप १३% मूल्य अभिवृद्धि कर गरेर १८% कर  तिर्न बाध्य बनाएकाले स्यानेटरी प्याड निकै महँगो भएकाले दुवै कर हटाउन माग गरिएको थियो। रिटमा स्वदेशी स्यानिटरी उत्पादन केन्द्रहरूलाई उत्पादन सामग्रीहरूको आयातमा भन्सार छुटको लागि कच्चा पदार्थहरूको आयातमा लगाइएको भन्सार महसुल दर संशोधन गरी उपयुक्त भन्सार छुट हुने कानून बनाउन आदेश दिन माग गरिएको थियो।

यसैगरि स्यानिटरी उत्पादनबाट उठाइएको कर बराबरको “स्यानिटरी उत्पादन कर कोष” को स्थापना गरी “नेपाल सरकार स्यानिटरी स्वास्थ्य कार्यक्रम” मार्फत नेपालको विभिन्न ठाउँहरूमा नि: शुल्क प्रजनन स्वास्थ्य जाँच सेवा, निजी तथा सरकारी शिक्षण संस्थाहरूमा नि: शुल्क प्याड उपलब्धताको सुविधा, सरकारी कार्यालयमा नि: शुल्क प्याड उपलब्धताको सुविधा, नेपाल प्रहरी, नेपाली सेना र नेपाल सशस्त्र प्रहरी बलमा कार्यरत महिला कर्मचारीहरूलाई थप स्यानिटरी प्याड खर्च अथवा स्यानिटरी उत्पादनहरूमा सजिलो पहुँचको व्यवस्था लगायतका अन्य आवश्यक कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारलाई उपयुक्त आदेश जारी गर्न रिटमा माग गरिएको थियो।

असार ५, २०८२ बिहीबार २१:३६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।