होमनाथ खनालको हिजोको कुरा : अन्तर्जातीय विवाह गर्दा घरकाले मर्यो भनेर फोटो नै च्यातिदिए, बामे भनेर थुने

तेह्रथुममा जन्मिएका होमनाथ खनाल ७३ वर्षका भए। २०२५ सालमा एसएलसी पास गरेका उनले त्यो समयमा ताप्लेजुङको भीर गाउँ,फापलुङ लगायतका प्राथमिक विद्यालयहरूमा पढाए। पञ्चायत व्यवस्थाविरुद्ध नेपाली कांग्रेस र कम्युनिस्टहरू उत्रिएका थिए। उनले पढाउने गाउँमा अधिकांश कम्युनिस्ट विचारधारा थिए।
त्यति बेलाका पञ्चहरूको निशानामा उनी पनि परे। प्रहरी हिरासतमै पुगे। अनि विद्यालयमा पढाउनै नसक्ने भएपछि मधेस झरे। मधेसमै अन्तर्जातिय विवाह गरे।
अन्तर्जातीय विवाहले उनलाई दिनसम्म दुख दियो। घर परिवारले तस्बिरै हटाए। एउटा अण्डा फुट्यो भन्दै मरे समान व्यवहार गरे। तर उनले हार मानेनन्। अवकाश जीवन बिताइरहेका खनालले केही पुस्तक समेत लेखेका छन्। उनले आफूले भोगेका, देखेका र अनुभव गरेका कुरा उकेराको कोलम हिजोका कुराका लागि सुनाए:
एसएलसी पासपछि स्कुलको शिक्षक
म विक्रम संवत् २००९ सालमा तेह्रथुमको सोल्मा गाविस वडा नम्बर १ मा जन्मिएको हो। मैले जान्दाखेरि त्यतिबेला गाउँ पञ्चायत भन्थे। मेरो बुवा वडा सदस्य हुनुहुन्थ्यो। पञ्चायत रहुन्जेलसम्म उहाँ वडा सदस्य भइरहनुभयो। मसँगै अर्को बैनी पनि जन्मिएकी थिइन् रे। उनको दुई वर्षको उमेरमै मृत्यु भएकाले मैले थाहा पाइनँ। मेरो एउटी दिदी र एउटा भाइ हो। सबैभन्दा जेठो मै हुँ।
म ५ कक्षासम्म गाउँकै प्राथमिक स्कुलमा पढेँ। त्यो समयमा प्राइमरी भन्ने चलन थियो। त्यो स्कुलको नाम दिव्यश्वरी प्राइमरी स्कुल भनिन्थ्यो। हाम्रो बारीमा नै थियो। बुबाले स्कुलका लागि भनेर जमिन दिनु भएको रहेछ।
त्यो स्कुलमा ५ कक्षा पढिसकेपछि उता फ्याक्चामारा भन्ने ठाउँमा गएँ। त्यहाँ निम्न माध्यमिकसम्म पढेँ। त्यतिबेला एउटै स्कुलमा एसएलसी हुँदैनथ्यो। अनि ९/१० कक्षा पढ्नका लागि धनकुटाको सरस्वती हाई स्कुलमा भर्ना भएँ। त्यहीँबाट २०२५ सालमा एसएलसी पास गरेँ।
बाल्यकालमा राजनीतिक विषयमा खासै चासो हुँदैनथ्यो। को, के पार्टीको भन्ने नै बुझिँदैनथ्यो। पढ्ने र घरको काम बाहेक अन्त कुरा पनि हुन्नथ्यो। गाउँमा पञ्चायतको नियम चले पनि उद्योग, कलकारखाना केही थिएन।
एसएलसी सकेपछिको मास्टर
त्यो बेलामा एसएलसी पास भनेको निकै ठूलो विषय हुन्थ्यो। सबैको चासोको विषय बन्थ्यो। बुवालाई भेट्न गाउँका मान्छेहरू घरमा भेला हुन्थेँ। हाम्रो तीन तलाको घर भएर उहाँलाई उहाँलाई तीन तले कान्छा बा भनेर बोलाउँथे।
मेरो घरमा गाउँका मान्छेहरू गफ गर्न अनि गफ सुन्न भेला हुन्थेँ। त्यो बेलामा फलानाको छोराले त एसएलसी पास गर्यो नि, फलानाको छोराले पैसा कमाएर धनकुटा,धरान,कता घर बनायो रे भन्थेँ। घरमा भेला भएकाहरूबाट यस्तै कुराहरू सुन्न पाउँथे म पनि।
उनीहरूको त्यस्ता कुरा सुनेपछि एसएलसी दिएर पनि बेरोजगारी भइयो भन्ने लाग्यो। अनि अब पैसा कमाउन जान्छु भनेर घरमा भन्दा मान्दै मानेनन्। घरको जेठो, अहिले किन जानुपर्यो भन्दै,घर छेउकै स्कुलमा पढाउलास् भन्न थाले। तर कसेको कुरा नसुनी भागेर ताप्लेजुङ गएँ।
त्यहाँ मेरो भतिजो बस्थ्यो, उसैकामा पुगे। सायद यो २६ सालतिरको कुरा हो। भतिज भूमिसुधारको खरिदार थियो। उसले जिल्ला शिक्षा कार्यालयमा लगेर हाकिमलाई ‘काकाले एसएलसी पास गर्नुभएको छ, कतै जागिर लगाइदिन पर्यो’ भन्यो।
त्यो बेलामा मास्टर पाउन गाह्रो थियो। मलाई ताप्लेजुङको सावा भन्ने ठाउँको प्राविको शिक्षकमा नियुक्त गरे। तर त्यहाँ गएपछि खाली छैन,के पो गरौँ भन्न थाले। त्यहाँको प्रधानपञ्चले पारी भीरगाउँमा शिक्षकको अभाव छ, त्यहाँ गएर पढाइदिनु भनेपछि त्यतै गएँ।
त्यो गाउँमा चारैतिर भिरै-भिर भएकाले भिरगाउँ भनेका रैछन्। गाउँमा पनि ७ वटा मात्रै घर थियो। ७ घरमा एउटा फुयाँल घर,अरू सबै लिम्बुको थियो। यस्तो ठाउँमा बस्न सकिन्छ कि सकिँदैन भन्ने भयो। तर बस्दै गएपछि मन बस्यो। असाध्यै मिलनसार मान्छेहरू रैछन् त्यहाँका।
त्यहाँ २ वर्ष पढाइसकेपछि फेरि भीरगाउँकै पापुङमा पठाइयो। यो निकै माथि लेक हो। मुख्य स्कुल यहाँ रैछन्। तल भीर गाउँतिर शाखा स्कुल रहिछ। यहाँ पढाउँदा पढाउँदै मलाई फेरि अलिक दिन सिम्बुकमा गएर पढाई दिनु पर्यो भन्न थाले। त्यहाँ सबै शेर्पा मात्रै।
पहिला लिम्बुहरू मात्रै थिए,नेपाली पनि बुझ्थेँ,अब शेर्पा समुदायका मान्छेहरूले नेपाली नबुझ्ने रैछन्। नेपाली बोल्दै नबोल्ने। म नेपालीबाट पढाउँछु, उनीहरू बुझ्दैनन्। उनीहरूले बोलेको कुरा म बुझ्दिन। म क, ख, ग भन्छु, उनीहरू पनि त्यहीँ भन्छन्। जे सिकायो त्यहीँ, अरू केही छैन। जसोतसो ३ महिना पढाएँ त्यहाँ।
त्यो बेलामा कुन विषयको पढाउने भन्ने हुँदैनथ्यो। जुनसुकै विषय पनि पढाउनु पर्थ्यो। तलब १ सय ५ रुपैयाँ थियो। त्यो बेलामा यति पैसाले भैँसी नै आउँथ्यो। शिक्षकहरूलाई सबैले राम्रो मान्ने। खान, बस्न पैसा लाग्दैनथ्यो।
सुरुमा लिम्बू, शेर्पा समुदाय भएकोले अलिअलि डर लाग्थ्यो। उनीहरूसँग म घुलमिल भएको पनि थिइनँ। पछि सँगै बस्ने, खाने, रमाइलो गरी समय बित्यो। म त्यो बेलासम्म आधुनिकतर्फ ढल्किसकेको रहिछु।
किनभने बाहुनको छोरोले अरूले छोएको खानु हुँदैन भन्थेँ। मैले त्यहीँ समुदायसँग बसेर खाना खाने मात्र होइन जाँड, रक्सी सबै खाइदिन थालेँ। खान कुनै टेन्सन थिएन। जुन घरमा पुगे पनि तोङबा दिने। अर्को घरमा खाना दिने। शिक्षक भनेपछि खुब मान गर्ने। खान्न भन्दा पनि सुख पाइँदैनथ्यो।
अनि बामे भन्दै कुटे
मैले पढेको अनि पढाएको ठाउँमा कसैले पढ्न पाउने, कसैले नपाउने भन्ने थिएन। सबै समुदायका मान्छेहरूले पढ्थेँ। दलित, जनजाति, बाहुन क्षेत्री सबै समुदायका मान्छेहरूले पढ्थेँ। दलित समुदायको घर थोरै थियो,थोरै नै आउँथेँ। दलितसँग बसेर पढ्नु हुँदैन भन्ने कुराको हामी नै विरोधी भइसकेका थियौँ।
जहाँ म पढाउँथेँ त्यो ठाउँ कम्युनिष्टहरुको अखडा रहिछ। त्यतिबेला कम्युनिस्टहरू कमै देखिन्थेँ। तर ताप्लेजुङ जिल्लामा अधिकांश भित्रभित्रै कम्युनिस्ट भइसकेका रैछन्।
त्यति बेलाका कम्युनिस्ट नेता भनिएका नन्द कुमार प्रसाईँ सर थिए। प्रसाईँ अहिले माओवादीका नेता तथा सांसद नै हुनुहुन्छ। उहाँ त्यो समयमा ताप्लेजुङको भानुभक्त पब्लिक स्कुलको हेडमास्टर नै हुनुहुन्थ्यो।
उहाँले भाषण गर्दा शरीर नै जुरुक्क जुरुक्क उठ्थ्यो। त्यतिको ऊर्जा दिनुहुन्थ्यो। म बसेको लिम्बु गाउँ, शेर्पा गाउँ सबै कम्युनिस्ट भइसकेका रैछन्। त्यो बेलामा कम्युनिस्टलाई बामे भन्थेँ। पञ्चायतले बामे भनेपछि सहनै नसक्ने। म पनि उनीहरूसँग अलि-अलि घुलमिल भइसकेको थिएँ। यता बुवा पञ्चायतबाट वडा सदस्य, उता म बामेमा सक्रिय हुन थालेँ।
२०२८ सालतिर म, नन्दकुमार अनि अर्को साँवा भन्नेलाई बामे भन्दै ताप्लेजुङमा लगेर थुने। कसो कसो गरेर साथीहरूले मलाई त्यहाँबाट निकाले। त्यसपछि म लिवाङ सरेँ। लिवाङ पनि लिम्बू समुदायको नै गाउँ हो। लिम्बुको थरको आधारमा गाउँको नाम राखिएको रहिछ।
स्कुलमा पढाउँदा कम्युनिस्टबारे अलिअलि सिकाइयो,कतिलाई पढाइयो। फलाना फटाहा भनेर नारा जुलुस पनि लाइयो। यसैको रिस फेरेका थिए पञ्चेहरूले। लिवाङको स्कुलमा ३ कक्षा पढेको मान्छे हेडमास्टर बनेर आए। त्यतिबेला नर्मल तालिम भन्थेँ, त्यो पास भएर हेडमास्टरको जागिर खान एकजना आए। तर उसले राम्ररी अक्षर पनि चिनेको थिएन,अब पढाउन त परको कुरा भइगयो।
उसलाई हेडमास्टर बनाएर ल्याएपछि मेरो पारो तातिहाल्यो। म सानो भए पनि विद्यार्थीहरू ठुलठुला हुन्थेँ। अनि मैले विद्यार्थीहरूलाई यो सरलाई निकालुम्,पढाउन पनि जान्दैन भन्दै उकासेँ। आन्दोलनै गरियो,नारा जुलुस निकालियो। विद्यार्थीहरूले बसिखानु नदिएपछि जिल्लामा उजुरी दिए। उजुरी परेपछि म भागे। के चाहिँ गरिरैछु र भनेर जिल्लामा सोधपुछ गर्न गएको त्यहीँ पक्रेर थुनिहाले।
त्यतिबेला अञ्चलाधीश थिए चक्रबहादुर विष्ट। उनले मलाई भारी बोकाएर,ठोकठाक गरेर,पिटपाट पारे तह लाग्छ यो भनेर अनेक उपाय लगाए। अब आइन्दा यस्तो गर्दिनँ भनेर हस्ताक्षर गर्न लगाएर पठाए। त्यति गरेपछि मलाई ताप्लेजुङ बस्न मन लागेन अनि घर फर्किएर छेउको रत्न माविमा पढाउन थालेँ।
ताप्लेजुङमा ४ वर्ष अनि रत्न माविमा २ वर्ष पढाए। घर छेउको स्कुलमा पढाएर केही हुन्न अब मधेस झर्छु भनेर मोरङको दुर्गापुरी भन्ने गाउँमा आएँ। मधेस आएपछि राम्रै जागिर पाइन्छ कि भन्ने लाग्यो। पहाडमा भन्दा तराईमा धानको भात पनि खान पाउने भनेर आएको थिएँ।
बुबा-आमाले त मधेसमा गर्मी हुन्छ, नजा भन्नुभएको थियो। तर म एक्लै मधेस झरेँ। त्यो बेला २ दिन जति लाग्थ्यो। हिँड्दै आउँदा तमोर नदी (मुलघाट)मा झोलुङ्गे पुल थियो। त्यो तरेको २ आना पैसा उठाउँथेँ। त्यो समयमा नेपाली भन्दा पनि भारतीय पैसा चलाउने चलन थियो। नेपाली पैसा एक मोहर, दुई मोहर यस्तै यस्तै हुन्थे।
मधेस झरेर ट्युसन पढाए
म उर्लाबारी भन्दा तल रहेको गाउँ दुर्गापुरीमा बसेर विद्यार्थीहरूलाई ट्युसन पढाउन थालेँ। विद्यार्थी कस्तो छ सोही अनुसारले पढाउँथेँ। कसैलाई गाएर हुन्छ कि,कसैलाई नाचेर हुन्छ कि,कसरी हुन्छ,उसलाई बुझाएर पढाउँथे। वरपरका विद्यार्थीहरू समेत ट्युसन पढ्न आउन थाले। स्कुलकै सरहरूले पनि म कहाँ ट्युसन पढ्न पढाउन थाले।
एक जनाले त मलाई २ बिघा जग्गा दिए। उनैले मकै छरिदिए। सबै मकै मेरा भए। धान चाहिँ उनीहरूले नै रोप्थेँ, मलाई दिँदैनथे। मकैको पालामा तपाईँको हो है भन्थेँ। पैसा पनि दिन्थेँ। पैसा पनि प्रशस्तै हुन थाल्यो। म त त्यहाँ निकै धनी भइहालेँ।
‘गीत गाउँदा गाउँदै माया बस्यो’
मले जुन गाउँमा बसेर ट्युसन पढाउँथे सोही ठाउँकी एकजना बहिनी काठमाडौंको दरबार हाई स्कुलमा पढ्दी रहिछिन्। उनी छुट्टी मिलाएर घर आइन्। यता दिदीसँग बसेकी, न्यूरोडमा क्यापिटल फोटो स्टुडियो भएकी। उनकी जेठी दिदीको नाम कविता आले, गायिका तथा कलाकार।
उनकै साइँली बहिनी घर आएको बेलामा यसो देखादेख भयो। उनको भाइ म कहाँ ट्युसन पढ्न आउँथे। भाइसँगै उनी पनि ट्युसनमा आउन थालिन्। मैले ट्युसन पढाउँदा कहिले गीत गाउन लगाउँथे, कहिले के गर्न लगाउँथे। केटाकेटीको माइन्ड फ्रेस बनायो भने पढाएको बुझ्छन्।
एक दिन गीत गाउने कार्यक्रममा उनी पनि आएकी थिइन्। मैले पनि उनलाई बहिनी तपाई पनि गीत गाउनु न हौँ भनेर गाउन लगाएँ। उनले गीत गाउँदा यति मीठो गाइन्,म त छक्कै परेँ। उनको स्वरले प्रभावित पारेछ। उनले त्यो बेला गाएको गीत अहिले पनि सम्झना छ। उनले ‘सही दिन्छु कुट बरु, बोलीले नकुट’ बोलको गीत गाएकी थिइन्।
बिस्तारै उनीप्रति म प्रभावित भए। उनले पनि मलाई मन पराएकी रहिछिन्। एक, दुई महिना यसरी नै बित्यो। त्यसपछि म गाउँ फर्किए। उनको पनि स्कुल लागेछ क्यारे। उनी काठमाडौं गइन्। पछि मिल्यो भने भेटौँला भन्ने कुरा भएको थियो। तर भेट भएन। अहिले जस्तो फोन गर्ने भन्ने थिएन क्यार।
तर उनी चार महिनापछि गाउँ आइन्। उनी आएपछि अब भागौँ न त भन्ने सल्लाह गरेर झापाको शनिश्चरेमा गएर बस्यौँ।
अन्तर्जातीय विवाहपछि जागिर पाउनै मुस्किल
'बाहुनको छोराले मगर्नी ल्यायो' भनेर हल्ला चलिहाल्यो। जताततै जागिरको खोजीमा लागेँ तर कतै जागिर भेटिँदैन। ट्युसन पठाउन भने छाडेको थिइनँ। तर त्यसले खासै सहज हुँदैनथ्यो। कोठा भाडाको पैसा लाग्दैनथ्यो। ट्युसन पढाउने मास्टर भएको त्यति फाइदा थियो। तर अरू खर्चमा गाह्रो हुन थाल्यो।
त्यतिबेला झापामा केदारमणी ढकाल सांसद थिए। राष्ट्रिय पञ्चायतका उपाध्यक्ष चौधरी थरका थिए। जागिर पाइन्छ कि भनेर प्रयास गरेँ। तर उनीहरू खासै जागिर दिने मुडमा देखिएनन्। भद्रपुरमा गोपाल पाण्डे अधिकृत थिए। भेटेर मेरा कुराहरू सुनाएँ। ‘ल तपाई भोलीदेखि आउनु’ भन्नुभयो। मलाई लेखामा राखिदिनुभयो। उहाँ जिन्दगीमा पनि बिर्सन नसक्ने मेरो मान्छे बन्नुभयो।
त्यहाँ ३ –४ वर्ष जति बसेँ। लेखा फाँटमै बसेँ। त्यसपछि परिवार नियोजनमा राम्रो हुन्छ भन्ने भयो। भइरहेको जागिर छाडेर परिवार नियोजनको कार्यालयमा जागिर खान गएँ। त्यहाँ पनि चार वर्ष जति काम गरेँ। त्यसपछि बल्ल ससुराली छेउ दुर्गापुरीमा घर किनेँ, १६ हजारमा।
घरकाले छाडे, फोटै जलाए
अन्तर्जातीय विवाह गरेपछि मेरा बाबुआमा नै टाढा भए। बाबुआमाले ‘एउटा फूल फुट्यो, के गर्नु, यस्तै रैछ मोराको’ भने। दाजु-भाइहरूले पानीखेदै गर्न थाले। मलाई परबाट देखे भने पनि उतैबाट साइड लाग्ने भए। चिनेका साथीभाइहरू पनि साइड लागे। बाबुआमासँग खिचेको फोटोबाट मलाई हटाइयो, च्यातेर फाले भन्ने सुनेँ।
माया मारेको मान्छेको फोटो के राख्ने भन्ने भयो होला। बिहे गर्दा यतिसम्म होला भनेर सोचिएन। त्यो बेलामा अन्तर्जातीय विवाह गर्न गाह्रै थियो। बाबुआमाले गाउँ घरमा पक्कै वचन सुने होलान्। तर यति साह्रै नै गर्नुहोला भन्ने सोचेको थिइन।
तर ससुराली पक्षबाट मलाई कुनै नराम्रो भएन। ‘नगर्नु बिहे गरिहाल्नुभयो,अब राम्ररी गरी खानु’ भन्नुभयो। उता मेरो घरमा भने तनावै भयो। त्यसपछि म घर गइन। दुर्गापुरीमा नै उनले पसल चलाइन्,मैले ट्युसन पढाएँ।
हिकोलामा जागिर,इटहरी चोकैमा घर
जेठी दिदी कविता आलेको दाइले इटहरीमा हिकोला खोल्नुभयो। अनि उहाँले मलाई अकाउण्ट हेर्न आग्रह गर्नुभयो। मैले धेरै समय त हेर्न भ्याउदिन २-३ घण्टा हेरिदिउँला भने। मलाई अकाउन्टको बारेमा थाहा थिएन। काठमाडौं आएर ७ दिन सिकेर गएँ। अकाउन्ट हेर्दा मेरो तलब २१ सय भयो। त्यो बेलामा २१ सय भनेको टन्नै हो। हाई स्कुलका शिक्षकले पनि १४–१५ सय तलब खान्थेँ।
एक महिनाको पैसाले परालले छाएको घरमा टिनको छानो हालेँ। हिकोलामा काम गर्न थालेको २ वर्षपछि म्यानेजर बनाए। त्यसपछि विराटनगर झापा, लहान लगायतमा शाखा खोले। अनि मैले इटहरीमा पनि घर किने।
त्यसपछि त म देख्दा भाग्नेहरू पनि जागिर खोज्न आउन थाले। गाउँलेहरू मेरो छोरालाई जागिर लाइदिनुपर्यो भन्न थाले। बाबुआमा पनि घरमा आएर बस्न थाल्नुभयो। तर बाबुआमा आफैले पकाएर खानुहुन्थ्यो।
छोराछोरी दुवैलाई झापामा बोर्डिङमा होस्टेलमा राखेर पढाएँ। काठमाडौंको डिल्ली बजारमा विजय स्मारक स्कुलको अगाडि हिकोला फोटो स्टुडियो खोलेँ। ठुलै लगानीमा स्टुडियो खोलेको थिए। तर एनालगबाट डिजिटल भएपछि करोडमा किनेको सामान ५ हजारमा पनि बिकेन। घाटा लाग्यो अनि छाडेँ।
असार ५, २०८२ बिहीबार २१:११:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।