बजेटलाई कार्यान्वयनको दृष्टिले नयाँ उदाहरण बनाउने प्रयासमा छौं : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणको दिशामा थप एक कदम अगाडि बढ्ने सङ्कल्पका साथ प्रस्तुत गरिएको बताएका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा बजेटमाथिको सामान्य छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले वर्तमान बजेटले नयाँ सपना देखाउनेभन्दा पहिले पहिले देखिएका सपना पूरा गर्न केन्द्रित रहेको स्पष्ट पारे।
उनले भने, ‘यो बजेट केवल आकार, अनुमान र प्रस्तावको हिसाबले मात्र होइन, कार्यान्वयनको दृष्टिले पनि नयाँ उदाहरण बन्न सकोस् भन्ने सोचका साथ प्रस्तुत गरिएको हो।’
पौडेलले आगामी आर्थिक वर्षको अन्त्यसम्म मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित राख्दै ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित बजेट कार्यान्वयन गरिने जानकारी दिए।
‘बजेटमार्फत अर्थतन्त्र चलायमान हुनेछ र हामी सुदृढ अर्थतन्त्र निर्माणको दिशामा अगाडि बढ्नेछौँ,’ उनले भने, ‘त्यही अठोट र सङ्कल्प बजेटमा समेटिएको छ।’
नयाँ योजनाभन्दा पनि विगतमा सुरु भएका आयोजना सम्पन्न गर्नेतर्फ बजेट केन्द्रित रहेको उल्लेख गर्दै उनले अघिल्ला वर्षमा घोषणा गरिएका योजनाको प्रभावकारी कार्यान्वयन प्राथमिकतामा रहेको जानकारी दिए।
असार ५, २०८२ बिहीबार १७:५१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।