१४ करोड ठगेर फरार भएका भण्डारी कम्बोडियाबाट नेपाल फर्काइए, साथमा भेटियो दुई राहदानी, दुई नागरिकता

काठमाडौं : मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका १४४ जना बचतकर्ताहरू र संचालकहरूसँग गरी १४ करोड रुपैयाँभन्दा बढी ठगी गरेको अभियोग लागेका फरार अभियुक्त ज्योती बहादुर भण्डारीलाई नेपाल प्रहरीले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको छ।
नेपाल प्रहरीको इन्टरपोल शाखाबाट रेड नोटिस जारी गरिएका भण्डारीलाई सन् २०२४ अक्टोबर २९ मा अन्तर्राष्ट्रिय सूचीमा राखिएको थियो। उनलाई असार ४ गते नेपाल ल्याइएर प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा राखिएको छ।
अनुसन्धान अनुसार मितेरी सहकारीका तत्कालीन महाप्रबन्धक ज्योती गुरुङले संस्थाबाट अपचलन गरेको रकम थाइल्याण्डमा बसोबास गर्ने भनिएका ज्योती बहादुर भण्डारीमार्फत फिर्ता गराउने भन्दै सहकारीका पदाधिकारीहरूसँग सम्पर्क गराएका थिए। भण्डारीले ग्लोबल आइएमई बैंक, इन्द्रचोक शाखामा रु. ३३ करोड ११ लाख पठाएको दाबी गर्दै ह्वाट्सएपमार्फत टोकनको फोटोसमेत पठाएका थिए।
तर, उक्त रकम छुटाउन कमिसन तिर्नुपर्ने बहाना बनाउँदै सहकारीका पदाधिकारीहरूसँग विभिन्न नाम र नम्बरबाट सम्पर्क गरेर थप रु. ३ करोड ४४ लाख ७४ हजार ३२० रुपैयाँ ठगी गरेको अनुसन्धानमा खुलेको छ।
भण्डारीले दुई फरक राहदानीमा फरक नागरिकता नम्बर र जन्मस्थान उल्लेख गरी कागजात कीर्ते गरेका थिए। उनले अन्य व्यक्तिको नागरिकता र राहदानी विवरण परिवर्तन गरी ‘स्क्याम’का लागि प्रयोग गरेको, फेसबुक र ह्वाट्सएपमार्फत फरक-फरक नाम प्रयोग गरेर ठगी गर्दै आएको पनि फेला परेको छ।
उनीविरुद्ध काठमाडौं जिल्ला प्रहरी परिसरमा दर्ता भएका तीनवटा ठगी मुद्दामा समेत फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरीले भण्डारीबाट ठगीमा परेका अन्य व्यक्तिहरूलाई सम्पर्कमा आउन समेत अनुरोध गरेको छ।
असार ५, २०८२ बिहीबार १६:२५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।