महत्वपूर्ण विधेयकहरू तत्काल कार्यसूचीमा राखेर अगाडि बढाउन माओवादीको माग

काठमाडौं : माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संघीय निजामती विधेयक लगायतका अति महत्वपूर्ण विधेयकहरूलाई तत्काल संसदको कार्यसूचीमा राखेर अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले बजेटमाथिको छलफल अगाडि बढिरहेको सन्दर्भमा संघीय निजामती विधेयक, विद्यालय शिक्षासँग सम्बन्धित विधेयक र नागरिकतासँग सम्बन्धित विधेयकलाई प्राथमिकता दिएर संसदमा प्रस्तुत गर्न तथा पारित गर्ने प्रक्रिया अगाडि बढाउन माग गरे।
उनले देश र जनतासँग प्रत्यक्ष जोडिएका यी महत्वपूर्ण विधेयकहरूलाई बजेट छलफलसँगै सँगसँगै पारित गरेर स्थानीय सरकार र प्रदेश सरकारले भोगिरहेका नीतिगत तथा कानुनी समस्याहरूको प्रभावकारी ढंगले समाधान गर्नुपर्ने आवश्यकता औंल्याए। यसका लागि सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।
सचेतक पाण्डेले सरकारले मुखले चाहिँ विधेयकहरू छिटो प्रस्तुत गर्छु, छिटो ल्याउँछु भने पनि व्यवहारमा भने कुरा एउटा र काम अर्को गरिरहेको भन्दै आलोचना गरे। सरकारले भन्ने एकथोक र गर्ने एकथोक गरिरहेको उनको आरोप थियो।
उनले प्रमुख प्रतिपक्षी दलहरूलगायत सबै पक्षले अति महत्वपूर्ण मानिएका यी विधेयकहरूलाई लगातार रूपमा संसदबाट पारित गरियोस् भनेर आग्रह गरिरहे पनि सरकारले त्यसतर्फ अपेक्षित ध्यान दिन नसकेको र प्रक्रिया अगाडि नबढाएको बताए।
असार ५, २०८२ बिहीबार १४:००:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।