रास्वपाको अवरोध र राप्रपाको बहिष्कारका बीच प्रतिनिधि सभा बैठक जारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिष्कारका बीच प्रतिनिधि सभाको बैठक जारी छ।
दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा सुरु हुनेबित्तिकै रास्वपा सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बोल्नका लागि सांसद् हरि ढकाललाई समय दिए।
रास्वपा सांसद ढकालले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने आफ्नो पुरानै अडान दोहोर्याउँदै उक्त माग पूरा नभएसम्म सदन अवरुद्ध पार्ने बताए।
तर, त्यसपछि पनि सभामुख घिमिरेले बैठक सञ्चालन गरेपछि रास्वपा सदस्यहरुले वेल घेर्न पुगे। उनले शून्य समयको कार्यसूची झिकेपछि केही सांसदहरूले विरोध गरेका थिए।
अन्य दलका सांसदहरूको विरोधपछि सभामुखले केही सांसदहरूलाई बोल्नका लागि एक–एक मिनेटको समय दिए। त्यसमा माओवादी सांसद् हितराज पाण्डे, राप्रपाका सांसद ज्ञानेन्द्र शाही, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, एकीकृत समाजवादीका सांसद् प्रकाश ज्वाला लगायतका केही सांसदहरुले बोलेका थिए।
ती सांसदहरुले बोलेपछि सभामुखले कार्यसूची अगाडि बढाउन लागेपछि राप्रपाका सांसदहरुले संसद बैठक बहिष्कार गरेका हुन्।
असार ५, २०८२ बिहीबार १३:२९:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।