इरानमाथिको मिसाइल आक्रमण थप तीव्र बनाउन इजरायली सेनालाई सरकारको निर्देशन

इरानमाथिको मिसाइल आक्रमण थप तीव्र बनाउन इजरायली सेनालाई सरकारको निर्देशन

जेरुसेलम : इजरायली सरकारले इरानमाथिको आक्रमण थप तीव्र पार्न इजरायली सेना (आईडीएफ)लाई निर्देशन दिएको छ।

इरानले इजरायलका शहरहरूमा ब्यालिस्टिक मिसाइलको पछिल्लो लहर प्रहार गरेपछि रक्षामन्त्री इजरायल काट्जले इजरायली सेनालाई सामरिक लक्ष्यहरूमाथिको आक्रमण तीव्र पार्न निर्देशन दिएका हुन्।

उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको समन्वयमा यो निर्देशन दिएको स्पष्ट पारेका छन्।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मन्त्री काट्जले भनेका छन्, ‘प्रधानमन्त्री र मैले आईडीएफलाई इरानमा रहेका सामरिक लक्ष्यहरू र तेहरानमा रहेका सरकारी साइटहरूविरुद्ध हमला तीव्र पार्न निर्देशन दिएका छौँ।’

विज्ञप्तिमा काट्जले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई ‘कायर इरानी तानाशाह’को संज्ञा दिएका छन्। खामेनी बंकरभित्र लुकेर इजरायलका अस्पताल र आवासीय भवनहरूमा जानाजानी आक्रमण गरिरहेक आरोप लगाएका छन्।

काट्जले यी आक्रमणहरूलाई ‘युद्ध अपराधका सबैभन्दा गम्भीर रूप’को संज्ञा दिँदै खामेनीलाई आफ्ना अपराधका लागि जवाफदेही बनाइने समेत चेतावनी दिएका छन्।

इजरायलमाथि आइपरेका खतराहरू हटाउनु र अयातोल्लाहहरूको शासनलाई अस्थिर बनाउनु नै आफूहरूमो मुख्य लक्ष्य रहेको मन्त्री काट्जको भनाइ छ।

असार ५, २०८२ बिहीबार १३:०९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।