भिजिट भिसा प्रकरणविरुद्ध अझ सशक्त रूपमा प्रस्तुत हुने रास्वपाको निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको छ।
बुधबार बसेको रास्वपा सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा पार्टीको संसदीय गतिविधिबारे छलफल गर्दै उक्त मुद्दा विरुद्ध पार्टी एकढिक्का भएर अघि बढ्ने निर्णय गरेको छ।
पार्टीले गरेको निर्णयमा भनिएको छ, ‘भिजिट भिसा काण्डमा पार्टीको संसदीय गतिविधिबारे गहन छलफल भयो। उक्त मुद्दा विरुद्ध पार्टी एकढिक्का भएर अघि बढ्ने तथा भिजिट भिसा काण्डमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने।’
साथै, बैठकले असार ७ गते बिहान ९ बजे ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने तथा सोही दिन बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गर्ने निर्णय पनि गरेको छ।
यसका अलावा पार्टीले इजरायल–इरानबीचको बढ्दो द्वन्द्वका बीच दुवै देशमा रहेका नेपाली नागरिकहरूको सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्न सरकारसँग तुरुन्त पहल गर्न जोडदार माग समेत गरेको छ।
साथै स्याङ्जाको आँधी खोलामा भइरहेको चरम दोहन विरुद्ध आवाज उठाउँदा वालिङ नगरपालिका-१० का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालबाट खुलेआम रड प्रहार गरी पार्टीका केन्द्रीय सदस्य एवं नदी संरक्षण अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपाल गम्भीर घाइते हुनुभएको घटनालाई पार्टीले अत्यन्त गम्भीर रूपमा लिएको जनाएको छ।
सौम्य स्वरूपमा उठाइएका विरोधलाई समेत सत्ता पक्षबाट हिंसात्मक रूपमा दबाउने प्रवृत्तिको पार्टी घोर भर्त्सना गरेर जघन्य घटनाले पार्टीलाई विचलित गर्न नसक्ने भन्दै पार्टी अझ दृढताका साथ जनताको पक्षमा आवाज उठाउँदै अघि बढ्ने प्रतिबद्धता समेत बैठकले दोहोर्याएको छ।
घटनामा संलग्न सबै दोषीलाई तुरुन्त पक्राउ गरी कानुनी कारवाही गर्न पार्टीले सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने र घाइतेको उपचार तथा कानुनी सहयोग सुनिश्चित गर्न पार्टीले आवश्यक सम्पूर्ण कदमहरू चालेको समेत प्रवक्ता मनिष झाले जानकारी दिए।
असार ५, २०८२ बिहीबार १२:०८:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।