पशुपति शर्माले ल्याए व्यङ्ग्यात्मक गीत ‘झोले त तैँ, झोले त मै’

काठमाडौं : कलाकार पशुपति शर्माको राजनीतिक र सामाजिक व्यङ्ग्य गरिएको नयाँ गीत सार्वजनिक भएको छ। ‘झोले त तैँ, झोले त मै’ बोलको गीतमा शर्माकै स्वर, शब्द तथा संगीत रहेको छ।
गीतमा नयाँ तथा पुराना राजनीतिक दलका नेताहरुमाथि तीखो व्यङ्ग्य गरिएको छ। यसका अलावा गीतले देशमा कर्मचारी र नेताहरूले गरिरहेको भ्रष्टाचार र घुसखोरीको विषयलाई सटिक तरिकाले प्रहार गरेको छ।
गीतमा गीतसंगीत र युट्युबमा देखिएको छाडापन, साथै आपराधिक गतिविधिमा संलग्नलाई दिइएको छुटबारे पनि व्यङ्ग्य गरिएको छ। गीतको भिडियोलाई जेरी भण्डारीले निर्माण तथा निर्देशन गरेका हुन्।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा शर्माले ‘लुट्न सके लुट’ बोलको गीत गाएका थिए। उक्त गीत सार्वजनिक भएपछि एमालेनिकट युवासंघका तत्कालीन अध्यक्ष रमेश पौडेल लगायतले धम्की दिँदै गीत हटाउन बाध्य पारिएको थियो।
पछिल्लो समय राजनीतिमा देखिएको व्यङ्ग्यलाई समेट्दै उनले यो नयाँ गीत ल्याएका हुन्। यस गीतमा भने अघिल्लो गीतको समयमा सरकार प्रमुख रहेका ओलीलाई नै सही र राम्रो भन्दै जनता नै नराम्रा भनेर व्यङ्ग्य गरिएको बताइएको छ।
असार ५, २०८२ बिहीबार ११:५०:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।