यसै साता अमेरिकाले इरानमाथि आक्रमण गर्ने ब्लुमबर्गको खुलासा

वाशिङ्टन : इजरायल र इरानबीच तनाव चुलिँदै गर्दा, अमेरिकाले इरानमाथि सम्भावित सैन्य हमलाको तयारी थालेको छ। ब्लुमबर्गमा प्रकाशित समाचार अनुसार, अमेरिकी उच्च अधिकारीहरूले आगामी दिनमा इरानमा आक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आन्तरिक तयारी अगाडि बढाएका छन्।
ब्लुमबर्ग नाम गोप्य राख्ने सर्तमा जानकारी दिने अधिकारीहरूका अनुसार, स्थित अझै परिवर्तनशील छ र जुनसुकै बेला मोड लिन सक्छ। केही अधिकारीहरूले त सप्ताहन्तमा नै हमला हुने सम्भावित योजनाबारे समेत बताएका छन्। अमेरिकाका केही सङ्घीय निकायका उच्च नेतृत्वले पनि सम्भावित आक्रमणका लागि तयारी सुरू गरिसकेको एक अधिकारीले उल्लेख गरे।
करिब एक हप्तादेखि इजरायलसँग युद्धरत इरानमाथि हमला गर्नेबारे राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनदेखि सार्वजनिक रूपमा विचार व्यक्त गरिरहेका छन्। बुधबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूलाई ‘के गर्ने भन्ने बारेमा योजना थाहा भएको’ बताएका थिए। ‘इरानमाथि आक्रमण गर्ने नजिक पुगेको हो?’ भन्ने प्रश्नमा ट्रम्पले ‘म गर्न पनि सक्छु। नगर्न पनि सक्छु’ भनी जवाफ दिएका थिए।
कूटनीतिबाट सैन्य कारबाहीतर्फ ट्रम्पको भाषामा परिवर्तन
राष्ट्रपतिको सैन्य कारबाहीप्रतिको यो अभिव्यक्ति एक हप्ताअघिको उनको आफ्नै भनाइभन्दा विल्कुल फरक छ। त्यतिबेला ट्रम्पले इरानसँग आणविक निशस्त्रीकरण सम्झौताका लागि कूटनीतिक वार्ताको लागि जोड दिइरहेका थिए। सहयोगी राष्ट्रहरूले इरान आणविक हतियार प्राप्त गर्ने नजिक पुगेको कुरामा जोड दिएपछि ट्रम्पको सोच परिवर्तन भएको बताइएको छ।
यसैबीच, इरानका विदेशमन्त्री अब्बास अरागचीले बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो देश ‘कूटनीतिप्रति प्रतिबद्ध’ रहेको र आणविक हतियार कहिल्यै नखोजेको र भविष्यमा पनि नखोज्ने बताए। जानकार स्रोतहरूका अनुसार, बेलायत, फ्रान्स र जर्मनीका विदेशमन्त्रीहरूले शुक्रबार जेनेभामा इरानी समकक्षीसँग आणविक वार्ता गर्ने योजना बनाएका छन्।
सैन्य कारबाही विचार गर्न राष्ट्रपतिको लागि साउथ क्यारोलिनाका सिनेटर लिन्डसे ग्राहमले आग्रह गरेका छन्। ट्रम्पले ग्राहमसँग धेरै पटक कुरा गरेका छन्।
ग्राहमले बुधबार इरानबारे भने, ‘उनले उनीहरूलाई कूटनीतिका लागि मौका दिएका थिए। मलाई लाग्छ उनीहरूले गलत हिसाब गरे। मानवतामाथिको यो खतरा जति चाँडो अन्त्य हुन्छ, त्यति राम्रो हुन्छ।’
ग्राहमले ट्रम्पसँग मंगलबार कुरा गरेको र उनी आणविक हतियारमाथि इरानको नियन्त्रण नहोस् भन्ने कुरामा उनी गम्भीर रहेको बताएका छन्।
इजरायल-इरान द्वन्द्व र अराक क्षेत्र खाली गर्न चेतावनी
मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको कुराकानीमा ट्रम्पले इजरायललाई आफ्नो सैन्य कारबाही जारी राख्न प्रोत्साहन गरेको बताए, तर अमेरिकी सेना प्रत्यक्ष सहभागी हुने कुनै संकेत नदिएको स्पष्ट पारे।
इजरायलको हमला सुरू भएदेखि इरानले इजरायलमा ४०० ब्यालिस्टिक मिसाइल र सयौं ड्रोन प्रहार गरेको छ। इजरायली सरकारका अनुसार, यसबाट २४ जनाको मृत्यु भएको छ र ८०० भन्दा बढी घाइते भएका छन्। अर्कोतर्फ, इजरायलको हमलाबाट कम्तिमा २२४ इरानी मारिएका छन्।
यसैबीच, इजरायलको कारबाही रोकिने कुनै संकेत छैन। इजरायली सेनाले मध्य इरानको सामरिक रूपमा महत्त्वपूर्ण अराक-खोन्डाब क्षेत्रका नागरिकहरूलाई खाली गर्न चेतावनी दिएको छ। यो क्षेत्र इरानका केही महत्त्वपूर्ण आणविक पूर्वाधारहरू अराक हेभी वाटर रियाक्टरको मुख्य अड्डा हो।
अराक लामो समयदेखि अन्तर्राष्ट्रियरूपमा निगरानीमा छ। यो आणविक हतियार उत्पादनमा महत्त्वपूर्ण मानिने प्लुटोनियम उत्पादनको सम्भावित क्षेत्र हो। यदि इरानले आवश्यक पुन: प्रशोधन क्षमता विकास गरेमा अन्य सबै देश आणविक हतियारमा निकै पछि पर्नेछन्। त्यसैले पनि इरानले आणविक पूर्वाधार निर्माण नगरोस् भन्ने चाहन्छन् पश्चिमेली राष्ट्रहरू।
असार ५, २०८२ बिहीबार १०:४१:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।