इरानमा १२ घण्टादेखि इन्टरनेट बन्द, अमेरिकी सडकमा इजरायलविरोधी नारा

एजेन्सी : इरानमा पछिल्लो १२ घण्टाभन्दा बढी समयदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ। इन्टरनेट अनुगमन गर्ने अन्तर्राष्ट्रिय संस्था नेट ब्लक्सले आफ्नो रिपोर्टमा इरानमा इन्टरनेट ठप्प रहेको पुष्टि गरेको छ।
इजरायली सेनाले देशभित्र फैलिएको इन्टरनेट सञ्जालको दुरुपयोग गरिरहेको भन्दै त्यसलाई रोक्नका लागि इन्टरनेट बन्द गरिएको इरानको सरकारले जनाएको छ।
यसैबीच, इरान र इजरायलबीचको बढ्दो तनावका कारण अष्ट्रेलिया र न्यूजील्याण्डले ती देशहरूमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रयास सुरू गरेका छन्।
तर, मध्यपूर्वको हवाई क्षेत्र बन्द रहेकाले उनीहरूले नागरिक उद्धारमा ठूलो कठिनाइको सामना गरिरहेका छन्।
अष्ट्रेलियाले इरानमा आफ्ना करिब १५ सय र इजरायलमा १२ सय नागरिक रहेको भन्दै उनीहरूलाई बाहिर निकाल्ने प्रकिया थालेको छ।
अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले सरकारले इजरायलबाट केही नागरिकलाई स्थलमार्ग हुँदै उद्धार गरेको र थप सुरक्षित विकल्पहरू खोजिरहेको बताइन्।
न्यूजील्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्सले पनि आफ्नो देशले नागरिकहरूलाई सहयोग गर्न सक्दो प्रयास गरिरहेको उल्लेख गरे।
यसैबीच, न्यूजील्याण्डले तेहरानमा रहेको आफ्नो दूतावास अस्थायी रूपमा बन्द गरेको छ। दूतावासका दुई कर्मचारी र उनीहरूका परिवारलाई स्थलमार्गबाट सुरक्षित रूपमा अजरबैजान सारिएको छ।
अमेरिकामा इरानको समर्थनमा प्रदर्शन, न्यूयोर्कको सडकमा नाराबाजी
इरान र इजरायलबीचको तनावको प्रभाव विश्वभर देखिएको छ। अमेरिकाको न्यूयोर्क शहरमा इरान समर्थक प्रदर्शनकारीहरूको एक भीडले सडकमा मार्च निकालेको छ।
भिडियोहरूमा प्रदर्शनकारीहरूले ‘इरानबाट टाढा रहनुहोस्’ जस्ता इजरायल विरोधी नारा लगाएको र टाइम्स स्क्वायर नजिकै भेला भएका इजरायल समर्थक प्रदर्शनकारीहरूलाई गिज्याएको देखाइएको छ।
यी इरान समर्थक प्रदर्शनकारीहरू म्यानहट्टनको सडकमा मार्च गरिरहेका थिए। उनीहरू इजरायली वाणिज्य दूतावासतर्फ जान खोजेका थिए, तर न्यूयोर्क प्रहरीले उनीहरूलाई त्यहाँ पुग्नबाट रोकेको थियो।
यो प्रदर्शन प्यालेस्टिनी युवा आन्दोलन र पिपुल्स फोरम तथा एन्सर एलायन्स जस्ता समाजवादी संगठनहरूद्वारा आयोजना गरिएको थियो।
असार ५, २०८२ बिहीबार १०:१४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।