बारामा कुटपिट गरी हत्या : मुख्य आरोपित फरार भएपछि श्रीमती र दुई छोरासहित चार जना पक्राउ

बारा : बारामा पुरानो रिसिवीका कारण एक व्यक्तिको निर्मम कुटपिट गरी हत्या गरिएको छ। घटना भएको केही दिनपछि प्रहरीले अनुसन्धानका क्रममा मुख्य आरोपितका श्रीमती र दुई छोरासहित चार जनालाई पक्राउ गरेको छ। घटनाका मुख्य योजनाकार मानिएका व्यक्ति भने अझै फरार रहेका छन्।
गत जेठ २९ गते साँझ करिब ६ बजेर १५ मिनेटको समयमा कलैया उप-महानगरपालिका वडा नम्बर १४, बघवनमा ५० वर्षीय नन्दु राउत कुर्मीलाई सोही स्थानका उमेश जैसवालसहित ६ जनाको एक समूहले मिलेर पुरानो रिसिवीका कारण मरणासन्न हुने गरी कुटपिट गरेका थिए।
कुटपिटबाट गम्भीर घाइते भएका कुर्मीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। तर, अस्पताल पुगेको केहीबेरमै, अर्थात् साँझ करिब ७ बजेर २० मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट तत्काल प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरू गरेको थियो। प्रारम्भिक अनुसन्धानकै क्रममा घटनामा संलग्न रहेको आरोपमा बघवनकै २८ वर्षीय दिगम्बर साह कलवारलाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो। उनलाई ज्यान सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धानका लागि सम्मानित बारा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिइएको थियो।
घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजीका लागि प्रहरी निरीक्षक खेम प्रसाद नेपालको कमाण्डमा एक विशेष प्रहरी टोली खटाइएको थियो। उक्त टोलीले असार ४ गते थप तीन जनालाई पक्राउ गर्यो।
पक्राउ पर्नेहरूमा घटनाका मुख्य आरोपित मानिएका उमेश जैसवालकी श्रीमती अन्दाजी ३८ वर्षीया रन्जु जैसवाल, उनका छोराहरू अन्दाजी २० वर्षीय सुमित जैसवाल र अन्दाजी १८ वर्षीय सुजित कुमार जैसवाल रहेका छन्। रन्जु जैसवाललाई कलैया उप-महानगरपालिका वडा नम्बर ५ स्थित सागर लामिछानेको घरबाट र सुमित तथा सुजितलाई पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १ शान्ती टोलस्थित बसिर मियाँको घरबाट पक्राउ गरिएको हो।
यससँगै, नन्दु राउत कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या चार पुगेको छ। पक्राउ परेका तीन जनालाई पनि ज्यान सम्बन्धी कसूर मुद्दामा अदालतबाट म्याद मिलाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घटनाका मुख्य योजनाकार भनिएका उमेश जैसवालसहित अन्य फरार आरोपितहरूको प्रहरीले व्यापक रूपमा खोजतलास गरिरहेको छ।
असार ५, २०८२ बिहीबार ०९:१३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।