नेदरल्याण्ड्ससँग सुपर ओभर हारको बदला लिने दाउमा नेपाल

नेदरल्याण्ड्ससँग सुपर ओभर हारको बदला लिने दाउमा नेपाल

काठमाडौं : स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिज अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग महत्वपूर्ण खेल खेल्दैछ। सुपर ओभरमा बेहोरेको रोमाञ्चक हारको बदला लिने दाउमा रहेको नेपालका लागि यो खेल सिरिजमा आफ्नो स्थान बलियो बनाउन निर्णायक हुन सक्छ।

ग्लासगोस्थित टिटवुड मैदानमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरू हुनेछ। सिरिजमा यो नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो भेट हो। नेदरल्याण्ड्स हालसम्म खेलेका ३ खेलमध्ये २ मा जित र १ मा हारसहित ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। उसले आज आफ्नो अन्तिम खेल खेल्दैछ।

नेपालले भने यस सिरिजमा दुई खेल खेलेको छ। एउटामा जित र अर्कोमा हार बेहोरेको नेपाल २ अंकका साथ तालिकाको पुच्छारमा छ। घरेलु टोली स्कटल्याण्ड २ अंकसहित दोस्रो स्थानमा छ।

यसअघि सोमबार भएको सिरिजको पहिलो भेटमा नेदरल्याण्ड्सले नेपालमाथि अविश्वसनीय जित हासिल गरेको थियो। निर्धारित २०-२० ओभर र पहिलो दुई सुपर ओभरमा पनि नतिजा ननिस्किएपछि खेल तेस्रो सुपर ओभरमा पुगेको थियो, जहाँ नेदरल्याण्ड्स विजयी भएको थियो। त्यो खेल नेपालको १००औं टी-२०आई खेल पनि थियो।

नेपालले त्यसपछिको खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले पराजित गर्दै सिरिजमा पहिलो जित दर्ता गराएको थियो। त्यो ‘लो स्कोरिङ’ खेलमा नेपालले संघर्षपूर्ण जित निकाल्यो त्यो पनि अन्तिम ओभरको पाँचौं बलमा।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको एकदिवसीय शृंखला सकिएलगत्तै सोही टोलीहरूबीच यो टी-२०आई सिरिज आयोजना गरिएको हो। नेपालले सिरिजको अन्तिम खेल शुक्रबार स्कटल्याण्डसँग खेल्नेछ।

डबल राउण्ड रोबिन लिगका आधारमा खेलिने यो सिरिजमा शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ। आज नेदरल्याण्ड्सलाई हराउन सके नेपालको च्याम्पियन बन्ने सम्भावना कायमै रहनेछ।

असार ५, २०८२ बिहीबार ०९:०२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।