इरान-इजरायल युद्ध : ट्रम्पले सैन्य अधिकारीहरूसँग सोधे- ‘बंकर बस्टर’ले इरानको फोर्डो आणविक केन्द्र ध्वस्त पार्न सक्छ?

इरान-इजरायल युद्ध : ट्रम्पले सैन्य अधिकारीहरूसँग सोधे- ‘बंकर बस्टर’ले इरानको फोर्डो आणविक केन्द्र ध्वस्त पार्न सक्छ?

एजेन्सी : इरान र इजरायलबीच युद्ध सातौं दिनमा प्रवेश गर्दा मध्यपूर्वको तनाव उत्कर्षमा पुगेको छ। यो द्वन्द्व केवल परम्परागत सैन्य कारबाहीमा मात्र सीमित छैन, यसले साइबर स्पेस, आणविक कूटनीति, भूराजनीतिक समीकरण र नागरिक जीवनलाई समेत हल्लाइदिएको छ। त्यस क्षेत्रमा हिंसा चर्कँदै जाँदा मानवीय क्षति बढिरहेको छ भने विश्व शक्तिहरू पनि यसको सम्भावित परिणामप्रति चिन्तित देखिएका छन्।

पछिल्लो घटनाक्रममा, इजरायली ह्याकरहरूको एक समूहले बुधबार राति इरानको सरकारी प्रसारण संस्था आईआरआईबीसहित धेरै समाचार च्यानलहरूलाई निशाना बनाएर ह्याक गरेका छन्। ह्याकरहरूले इरानी जनतालाई सिधै सम्बोधन गर्दै शासनविरुद्ध विद्रोह गर्न आह्वान गरेका थिए।

ह्याकरहरूले सन् २०२२ मा नैतिकता प्रहरीको हिरासतमा महसा अमिनीको मृत्युपछि भएको देशव्यापी विरोध प्रदर्शनका मार्मिक दृश्यहरू प्रसारण गरे, जसमा महिलाहरूले सांकेतिक रूपमा आफ्नो कपाल काटिरहेको देखिन्थ्यो। गलत तरिकाले हिजाब लगाएको आरोपमा पक्राउ परेकी २२ वर्षीया महसाको मृत्युले इरानमा ठूलो आक्रोश जन्माएको थियो र यो ह्याकिङले सोही घाउलाई फेरि बल्झाउने र आन्तरिक अस्थिरता फैलाउने प्रयास गरेको थियो।

मिसाइल प्रहार र रक्षा प्रणाली
युद्ध मैदानमा भने दुवै पक्षबाट आक्रमण जारी छ। इरानको रिभोलुसनरी गार्ड्सले बुधबार साँझ इजरायलतर्फ लामो दूरीको सेजिल क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ।

सेजिल इरानको सतहबाट सतहमा मार हान्ने शक्तिशाली मिसाइलमध्ये एक हो, जसको मारक क्षमता इजरायलसम्म पुग्ने बताइन्छ। यद्यपि, इजरायली रक्षा प्रणालीले उक्त क्षेप्यास्त्रलाई सफलतापूर्वक रोकेको दाबी गरेको छ।

यसअघि, बुधबार बिहान आईआरजीसीले पहिलो पटक फताह नामक नयाँ मिसाइल इजरायलमा प्रयोग गरेको घोषणा गरेको थियो। फताहलाई इरानले हाइपरसोनिक मिसाइलको रूपमा दाबी गरेको छ, जसलाई रोक्न कठिन हुने मानिन्छ।

यस युद्धको मानवीय मूल्य पनि दिन प्रतिदिन बढ्दै गएको छ। पछिल्लो ६ दिनमा इजरायलतर्फ २४ जनाको मृत्यु भएको पुष्टि भएको छ। वासिङ्टनस्थित एक मानव अधिकार समूहले भने इरानमा मृत्यु हुनेको संख्या ५८५ पुगेको र १३२६ जना घाइते भएको भयावह आँकडा सार्वजनिक गरेको छ। यद्यपि स्वतन्त्र स्रोतबाट यसको पुष्टि हुन बाँकी छ।

अमेरिकाको सैन्य सतर्कता र आणविक चासो
भूराजनीतिक परिदृश्यमा अमेरिकाको उपस्थिति र चिन्ता पनि यस द्वन्द्वबाट अछूतो छैन। रोयटर्स समाचार संस्थाले दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार, अमेरिकाले पश्चिम एसियामा तैनाथ आफ्ना केही सैन्य जहाज र विमानहरूलाई उनीहरूको स्थानबाट हटाउन थालेको छ।

इरानको सम्भावित मिसाइल आक्रमणको दायराबाट आफ्ना सैनिक र सामग्रीको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले यो कदम चालेको हो। बहराइनको बन्दरगाहमा अमेरिकी पाँचौं नौसेना फ्लीटको आधार छ, त्यहाँबाट केही जहाजहरू सारिएका छन् भने कतारको अल उदेद एयरबेसमा रहेका सुरक्षा ह्याङ्गरभन्दा बाहिर राखिएका विमानहरूलाई पनि सुरक्षित स्थानमा सारिएको छ।

यसैबीच, वाल स्ट्रिट जर्नल र एक्सियोसका पहिलेका रिपोर्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेको र अन्तिम आदेश दिनुअघि इरानले आफ्नो आणविक कार्यक्रम त्याग्छ कि गर्दैन भनेर हेर्न चाहेको उल्लेख छ। एक्सियोसको रिपोर्टले त ट्रम्पले आफ्ना सैन्य सल्लाहकारहरूलाई इरानको फोर्डो आणविक सुविधालाई ३० हजार पाउन्डको बंकर बस्टर बमले ध्वस्त पार्न सक्छ कि भनेर विशेष रूपमा सोधेको खुलासा गरेको छ।

‘म्यासिभ अर्डनेन्स पेनिट्रेटर’ नाम दिइएको यो बम अमेरिकासँग रहेका सबैभन्दा शक्तिशाली बंकर-भेदी बममध्ये एक हो। इरानको फोर्डो आणविक स्थल पहाडको धेरै गहिराइमा निर्माण गरिएकोले इजरायलसँग भएको कुनै पनि हतियारले त्यहाँ पुग्न असम्भव मानिन्छ।

पेन्टागनका अधिकारीहरूले उक्त बमले फोर्डोलाई ध्वस्त पार्न सक्ने विश्वास व्यक्त गरे पनि ट्रम्प सो जवाफबाट पूर्ण रूपमा सन्तुष्ट थिए वा थिएनन् भन्ने स्पष्ट छैन।  यी शक्तिशाली बमहरू अहिलेसम्म परीक्षणमा मात्र सीमित छन्, कुनै पनि वास्तविक युद्धमा प्रयोग भएका छैनन्।

अमेरिकी जनमत विभाजित
यस द्वन्द्वलाई लिएर अमेरिकाभित्रको जनमत भने विभाजित देखिएको छ। फक्स न्यूजको एक सर्वेक्षणअनुसार, इरानमाथि हुने सम्भावित आक्रमणका विषयमा अमेरिकीहरू लगभग दुई कित्तामा बाँडिएका छन्।

४९ प्रतिशत यसको समर्थनमा छन् भने ४६ प्रतिशत विरोधमा। राजनीतिक झुकावका आधारमा यो विभाजन झनै स्पष्ट देखिन्छ; अधिकांश रिपब्लिकन मतदाता लगभग ७३ प्रतिशत आक्रमणको पक्षमा छन्, तर डेमोक्र्याट र स्वतन्त्र मतदातामध्ये केवल ३२ प्रतिशतले मात्र यसलाई सही ठान्छन्।

सर्वेक्षणमा सहभागी ७३ प्रतिशत अमेरिकीहरूले इरानलाई अमेरिकाका लागि ठूलो खतरा मानेका छन्। यद्यपि, ५९ प्रतिशतले इरानमाथि आक्रमण गर्दा विश्व अझ खतरनाक बन्ने बताएका छन्। जबकि ३६ प्रतिशतले मात्र यसले सुरक्षा बढाउने ठानेका छन्।

८१ प्रतिशत अमेरिकीहरूले मध्यपूर्वमा हुने घटनाक्रमले अमेरिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर गर्ने विश्वास राख्छन्। यसका अतिरिक्त, ५३ प्रतिशतले इजरायली सेनालाई आर्थिक सहयोग जारी राख्नुपर्ने पक्षमा मत दिएका छन्। यो सर्वेक्षण एक हजार तीन जनामा गरिएको थियो।

इरानमा इन्टरनेट प्रतिबन्ध र चीनको नागरिक उद्धार
युद्धको प्रत्यक्ष असर नागरिक जीवनमा पनि परेको छ। इरानको सञ्चार मन्त्रालयले इजरायलसँगको जारी द्वन्द्वका बीच आफ्ना नागरिकहरूको जीवन र सम्पत्तिको रक्षा गर्न इन्टरनेट सेवामा अस्थायी प्रतिबन्ध लगाएको घोषणा गरेको छ।

यद्यपि, लन्डनस्थित इन्टरनेट अनुगमन संस्था नेटब्लक्सले इरानमा लगभग पूर्ण रूपमा राष्ट्रिय इन्टरनेट ब्ल्याकआउट भएको दाबी गरेको छ। इन्टरनेटमाथि प्रतिबन्ध लगाएर इरानले सूचना प्रवाह नियन्त्रण गर्ने र सम्भावित आन्तरिक असन्तुष्टि वा प्रदर्शनलाई रोक्ने प्रयास गरेको छ।

यसैबीच, अन्तर्राष्ट्रिय समुदायले पनि यस द्वन्द्वप्रति प्रतिक्रिया जनाउन थालेको छ। चीनले इजरायलमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन सुरू गरेको छ। तेल अभिभस्थित चिनियाँ दूतावासले जारी गरेको सूचनाअनुसार, इजरायल छोड्न चाहने चिनियाँ नागरिकहरूलाई शुक्रबारदेखि बसमार्फत इजिप्टको सीमातर्फ लगिनेछ।

यी बसहरूले उनीहरूलाई तेल अभिभबाट करिब ३६० किलोमिटर टाढा इजिप्टको सिनाई क्षेत्रको सिमाना नजिकै रहेको ताबा बोर्डरसम्म पुर्याउनेछन्। चीनले मात्र हाेइन अन्य देशहरूले पनि आफ्ना नागरिकलाई युद्धग्रस्त क्षेत्रबाट धमाधम बाहिर निकाल्न थालेका छन्।

असार ५, २०८२ बिहीबार ०७:५६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।