देशका अधिकांश भू-भागमा बदली, कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

देशका अधिकांश भू-भागमा बदली, कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरको मौसम आज बदली रहने र केही स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

विशेषगरी कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

विभागका अनुसार, हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ।

यसका साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव परेको छ। भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभावका कारण देशभरको मौसम प्रभावित भएको विभागले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि छ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राती पनि कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना कायमै रहनेछ। उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव र तराईमा डुबानको जोखिम हुन सक्ने भएकाले नदी तथा खोला किनारमा बसोबास गर्नेहरुलाई विशेष सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ।

असार ५, २०८२ बिहीबार ०७:१९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।