सङ्घीय संसद्का दुवै सदनका बैठक आज, प्रतिनिधि सभामा रास्वपाको अवरोध र राप्रपाको बहिष्कार कायमै रहने

सङ्घीय संसद्का दुवै सदनका बैठक आज, प्रतिनिधि सभामा रास्वपाको अवरोध र राप्रपाको बहिष्कार कायमै रहने

काठमाडौं : सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।

आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८२ माथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।

विधेयकमाथि वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। छलफलका क्रममा उल्लिखित मन्त्रालयका विभिन्न शीर्षकमाथि प्राप्त खर्च कटौतीका प्रस्ताव प्रस्तुत हुने कार्यसूची पनि छ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध कायम गर्दै आएका छन्। माग सम्बोधन नभएसम्म सदन अवरोध जारी राख्ने रास्वपाका नेताहरुले बताउँदै आएकाले आजको बैठक पनि अवरुद्ध हुने सम्भावना छ।

उता राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तर हुने कार्यसूची छ।

यस्तै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि राष्ट्रियसभामा भएको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ पेस गर्नेछन्। अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

दुवै सदनको बैठकले संविधानसभा सदस्य वीरेन्द्र जुहारचन र प्रतिनिधिसभाका पूर्वसदस्य ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ।

असार ५, २०८२ बिहीबार ०७:१२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।