हत्या गर्ने चेतावनी पछि ट्रम्पलाई खामेनीको जवाफ- इरानले कहिल्यै आत्मसमर्पण गर्दैन

हत्या गर्ने चेतावनी पछि ट्रम्पलाई खामेनीको जवाफ- इरानले कहिल्यै आत्मसमर्पण गर्दैन

एजेन्सी : इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको ‘बिनाशर्त आत्मसमर्पण’को मागलाई अस्वीकार गर्दै इरानले कुनै हालतमा आत्मसमर्पण नगर्ने स्पष्ट पारेका छन्।

खामेनीको यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति ट्रम्पले ‘हामीलाई थाहा छ खामेनी कहाँ लुकेका छन्, चाहेमा हामी उहाँको हत्या गर्न सक्छौं’ भन्ने धम्की दिएको केही घण्टामै आएको हो। ट्रम्पले इरानलाई तत्काल आत्मसमर्पण गर्न चेतावनी दिएका थिए।
तर खामेनीले सरकारी टेलिभिजनमा प्रसारित एक लिखित सम्बोधनमार्फत भने, ‘यो राष्ट्रले कहिल्यै आत्मसमर्पण गर्नेछैन। ट्रम्पले राखेको अल्टिमेटम हामीलाई स्वीकार्य छैन।’

इजरायलले शुक्रबार इरानमाथि भयानक बमबारी गरेपछि इरानले क्षेप्यास्त्र र ड्रोनमार्फत प्रतिआक्रमण सुरु गरेको थियो। यही घटनाक्रमको बीचमा खामेनीको चेतावनी आएको हो।

खामेनीले सन् १९८९ देखि सत्ता सम्हाल्दै आएका छन्। उनले इजरायली नेताहरूलाई कुनै दया नदेखाउने चेतावनी दिइसकेका छन्।

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी संस्था आइएइएका अनुसार तेहराननजिकै इरानको आणविक कार्यक्रम अन्तर्गतका दुई वटा ‘सेन्ट्रिफ्युज कम्पोनेन्ट’ बनाउने भवन इजरायली आक्रमणमा ध्वस्त भएका छन्। यो आक्रमण पश्चात खामेनीले अमेरिकासँग नझुक्ने र आत्मसमर्पण नगर्ने भनाइ दोहोर्याएका हुन्।

असार ४, २०८२ बुधबार २१:२३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।