तिब्बतमा भारी वर्षाको पूर्वानुमान, भोटेकोशीमा बाढीको खतरा

तिब्बतमा भारी वर्षाको पूर्वानुमान, भोटेकोशीमा बाढीको खतरा
ai image

चौतारा : छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने पूर्वानुमानसहित बाढी आउन सक्ने खतरा देखिएपछि चिनियाँ प्रहरीले सिन्धुपाल्चोक प्रशासनलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

असार ३ गतेदेखि ७ गतेसम्म भोटेकोशी नदी भएर बग्ने तिब्बती भूभागमा तीव्र वर्षा हुने सम्भावना रहेको जानकारी चिनियाँ पक्षबाट प्राप्त भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।

प्राप्त सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयले भोटेकोशी तथा सुनकोशी नदी आसपासका क्षेत्रहरू  भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिकामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न स्थानीय निकायहरू र सुरक्षाकर्मीहरूलाई पनि तयारी अवस्थामा रहन आग्रह गरेको छ।

यता जल तथा मौसम विज्ञान विभागले भने सिन्धुपाल्चोक र सोको माथिल्लो जलाधार क्षेत्रमा हाल मनसुनको प्रभाव भए पनि कमजोर अवस्थामा रहेकाले हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ।

असार ४, २०८२ बुधबार १९:३२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।