तीन वटा सुनका डल्लासहित विमानस्थलबाट एक भारतीय पक्राउ

तीन वटा सुनका डल्लासहित विमानस्थलबाट एक भारतीय पक्राउ
ai image

काठमाडौं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीय मीना सुरजितसिंह खेमानी रहेको केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए।

उनी एयर अरेवियाको उडानबाट शारजाहबाट काठमाडौं आएकी थिइन्। विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दियो। 

‘एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौं आएकी खेमानी विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब एक किलो १५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस् पदार्थसहित पक्राउ परेकी हुन्,’ प्रवक्ता विनोद घिमिरेले भने। 

प्रहरीले प्लास्टिकले ‘र्याप’ गरेको तीन वटा सुनका डल्ला फेला पारी पक्राउ गरेको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता घिमिरे बताए।

असार ४, २०८२ बुधबार १९:१४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।